नबिल बैंक एक्सपोर्ट क्रेडिट ग्यारेन्टी कार्यक्रम अमेरिकाको कृषि विभागमा सूचीकृत

नबिल बैंकले अमेरिकाको कृषि विभागबाट सञ्चालित एक्सपोर्ट क्रेडिट ग्यारेन्टी कार्यक्रम जीएसएम आई ०२ अन्तर्गत बैंकलाई सूचीकरणका लागि विभागसँग सम्झौता गरेको छ । नबिल बैंक उक्त विभागबाट गरिएको उच्चस्तरीय मूल्याकंनपछि यस कार्यक्रमअन्तर्गत सूचीकृत हुने नेपालको पहिलो र एक मात्र बैंक हो ।

यो व्यवस्थासँगै नबिल बैंकले उक्त विभागबाट निर्यात क्रेडिट ग्यारेन्टी सीमाको सुविधा प्रयोग गर्न सक्ने जनाइएको छ । यूएसडीए कार्यक्रमअन्तर्गत सामानहरू आयात गर्न नबिल बैंकले आफ्ना ग्राहकहरूको तर्फबाट जारी गरेको प्रतीतपत्रमा तेस्रो बैंकहरूबाट प्रमाणीकरण गरिरहनुपर्ने छैन । यस व्यवस्थाअन्तर्गत अमेरिकी निर्यातकर्ताहरूले नबिल बैंकले जारी गरेको अपरिवर्तनीय प्रतीतपत्रमार्फत सोझै अमेरिकी बैंकहरूबाट वित्तीय सुविधा प्राप्त गर्न सक्ने जनाइएको छ ।

यूएसडीएको निर्यात ऋण ग्यारेन्टी कार्यक्रमअन्तर्गत नेपाल र नबिल बैंक सूचीकृत हुनु नेपाल र नबिल बैंकको अन्तर्राष्ट्रिय पहुँच र मान्यतालाई विश्वव्यापी रूपमा स्थापित गर्ने प्रयासमा अर्को कोसेढुंगा भएको बैंकले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार