सरकारले आगामी जेठ महिनादेखि हप्तामा २ दिन बिदा दिने निर्णय गरेसँगै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले पनि शेयर बजारको तालिका हेरफेर गरेको छ । आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय अनुसार नेप्सेले पनि आइतबारको सट्टा शुक्रबार शेयर कारोबार खुला हुने भएको हो ।
योसँगै शेयर बजार पाँच दिन नै खुल्ने भएको छ। हालको व्यवस्था आइतबारदेखि बिहीबारसम्म बजार खुल्ने रहेकोमा धितोपत्र नियमावलीमा संशोधन गरी अब सोमबारदेखि शुक्रबार सम्म खुल्ने भएको हो ।
पेट्रोलियम पदार्थको खपत घटाउन नेपाल आयल निगमको प्रस्तावमा सरकारले जेठबाट लागू हुने गरी हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको हो । यसअघि शनिवार मात्रै बिदा दिने सरकारको निर्णयपश्चात् शनिवार र आइतबार बिदा दिने भएको हो ।
हाल सातामा ५ दिन शेयर कारोबार हुँदै आएको छ । धितोपत्र बोर्डबाट स्वीकृति पाएसँगै अब शुक्रबार पनि शेयर कारोबार हुने छ ।
विदेशी मुद्रा सञ्चिती घट्दो र शोधानन्तर घाटा बढ्दो स्थिति गएको भन्दै सरकारले सार्वजनिक विदाको समय बढाएको हो । यसअघि पेट्रोलियम पदार्थको आयात घटाउन सरकारी इन्धनमा २० प्रतिशतले कटौती गरेको थियो । त्यस्तै विदेशी विनिमय सञ्चिति बढाउन सरकारले विभिन्न १० वटा वस्तुमाथि पूर्ण रूपमा बन्देज लगाउने निर्णय गरेको थियो ।