आइसोलेशन श्यया तयार पार्दै स्याङजाका पालिकाहरु

नयाँ भेरियन्ट कोभिड–१९ को सङ्क्रमण दर ह्वात्तै बढेपछि स्याङ्जाका पालिकाहरुले आइसोलेशन श्यया निर्माणको तयारीलाई तीव्रता दिएका छन् । देशका विभिन्न ठाउँमा अक्सिजनको अभावका कारण सङ्क्रमितहरुको ज्यान गइरहेका बेला यहाँका पालिकाहरुले अक्सिजनसहितको श्यया निर्माणको कार्यलाई तीव्रता दिएका हुन् ।

स्मार्ट सिटीको अवधारणामा अगाडि बढ्दै गरेको वालिङ नगरपालिकाले मङ्गलबारबाट अक्सिजनसहितको छ श्यया सञ्चालनमा ल्याएको छ । वालिङ नगरपालिकाले गह्रौँ प्राथमिक अस्पतालमा तत्कालका लागि अक्सिजन र नेबुलाइजरसहितको सुविधा सम्पन्न छ श्यया तयार गरी सञ्चालनमा ल्याएको नगरप्रमुख दिलीपप्रताप खाँणले बताए । “अस्पतालमा पहिलो चरणमा हामीले छ श्यया निर्माण गरी सञ्चालनमा ल्याएका छौँ”, नगरप्रमुख खाँणले भने, “केही दिनभित्रैमा २५ श्यया क्षमताको पु¥याउने गरी काम तीव्र गतिमा भइरहेको छ ।”

वालिङका नागरिकको स्वास्थ्यसम्बन्धी उपचारका लागि नगरपालिका प्रतिबद्ध रहेको उनले बताए । “सबैभन्दा ठूलो नागरिकको स्वास्थ्य हो यसप्रति नगरपालिका सजग र सचेत छ”, प्रमुख खाँणले भने, “कोभिड सङ्क्रमित कोही पनि बिरामीलाई अक्सिजनको कमी हुन दिने छैनौँ र उपचारमा कुनै अभाव महसुस हुन नदिने गरी तयारी गरिरहेका छौँ ।”

अस्पतालमा निर्माण गरिएको सुविधा सम्पन्न आइसोलेशनमा चौबिसै घण्टा चिकित्सक तथा स्वास्थ्यकर्मीले उपचार तथा परामर्श दिने व्यवस्था मिलाइएको स्वास्थ्य शाखा प्रमुख एवं जनस्वास्थ्य निरीक्षक कमलप्रसाद पाण्डेले बताए । नगरपालिकाले अस्पतालमा नै कोरोनाको एन्टिजिनसमेत परीक्षण गर्दै आएको अस्पतालका प्रमुख चिकित्सक सरोज थापाले बताए । परीक्षणको दर वृद्धिसँगै सङ्क्रमितको दर पछिल्ला दिनहमा बढ्दै गएकाले जटिल बिरामीलाई अस्पतालमै र सामान्य बिरामीलाई होम आइसोलेशनमा राखिएको प्रमुख चिकित्सक थापाले बताए ।

स्याङ्जाको फेदीखोला गाउँपालिका–३ स्थित भाटखोला स्वास्थ्यचौकीमा २० श्ययाको अक्सिजनसहितको आइसोलेशन सेन्टर निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले बताए । कोभिड सङ्क्रमितलाई राख्नका लागि प्रत्येक कोठामा शौचालय र नुहाउने कोठाको सुविधा, तातो र चिसो पानीको व्यवस्था, बिरामीहरुको ज्वरो नाप्ने थर्मोमिटर, रक्ताचाप नाप्ने उपकरणहरुको प्रबन्ध मिलाइएको अध्यक्ष सुवेदीले बताए । “अहिलेसम्म गाउँपालिकाभित्र सक्रिय सङ्क्रमितहरु दुईजना छन्, उहाँहरु होम आइसोलेशनमा बस्नुभएको छ”, अध्यक्ष सुवेदीले भने, “सङ्क्रमितको सङ्ख्या बढ्दै गएमा आइसोलेशनमा राखेर उपचार गर्नेछौँ ।”

आइसोलेशन सेन्टरमा इन्टरकम फोन र टेलिभिजन जडान गरिएको छ । सिसी क्यामेराको जडान गरी उनीहरुको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिने वा निगरानी गरिरहने व्यवस्था मिलाएको छ ।

यसैगरी स्याङ्जा सदरमुकाममा रहेको पुतलीबजार नगरपालिकाले करेण्डाँडा स्वास्थ्यचौकीमा २० श्यया क्षमताको आइसोलेशन कक्ष निर्माण गरेको नगरप्रमुख सीमा क्षेत्रीले बताए । त्यस्तै गणेशपुर स्वास्थ्य चौकीमा पनि २० श्यया क्षमताको आइसोलेशन कक्ष बनाउने कार्य अन्तिम चरणमा पुगेको उनले बताए । ११ पालिका रहेको स्याङ्जामा अन्य पालिकाले पनि आइसोलेशन कक्ष तथा क्वारेन्टिनहरुको निर्माण कार्यलाई तीव्रता दिएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार