स्थानीय तह निर्वाचनका लागि मतपत्रको छपाइ सम्पन्न भएको छ । आजसम्म सबै जिल्लामा मतपत्र ढुवानी भइसक्ने निर्वाचन आयोगले जनाएको छ ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार मधेस प्रदेशका जिल्ला बाहेक सबै जिल्लामा मतपत्र ढुवानी भइसकेको हो । आयोगका अनुसार हरियो रंगको मतपत्रमा चुनाव चिह्न कालो रंगका छन् । मतपत्रमा सबैभन्दा माथि राष्ट्रिय पार्टीका चुनाव चिह्न राखिएको छ । त्यसपछि जिल्लामा क्रियाशील राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारका चुनाव चिह्नहरु छन् ।
आयोगले निर्वाचनका लागि स्थानीय तह निर्वाचन (जनशक्ति व्यवस्थापन) निर्देशिका, २०७८ बमोजिम खटिने मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र मतगणना कर्मचारीलाई अति जरुरी, मानवीय र संवेदशील कारण परेको अवस्थामा बाहेक खटाइएको कर्मचारीलाई तोकिएको ठाउँमा खटिन आयोगले निर्देश गरेको छ ।
उपयुक्त कारण परेको अवस्थामा बाहेक कुनै पनि कर्मचारीले निर्वाचनको काममा खटिन इन्कार गरेमा प्रचलित कानुन बमोजिम कडा कारवाही गर्न सबै मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतलाई आयोगले निर्देशन दिएको छ । मतदान कार्यका लागि खटिएका कर्मचारीलाई अनिवार्य रूपमा आफू खटिएको ठाउँमा अविलम्ब जान र आफूलाई तोकिएको जिम्मेवारी पूरा गर्न आयोगले आदेश गरेको छ ।
देशभरका ७५३ पालिकाका जनप्रतिनिधि चुन्न यही वैशाख ३० गते बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान हुने छ ।