स्थापितलाई निर्वाचन आयोगले फेरि सोध्यो २४ घण्टे स्पष्टीकरण

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टसँग लिखित जवाफ माग

काठमाडौं महानगरपालिकाको मेयरमा एमालेका उम्मेदवार केशव स्थापितलाई निर्वाचन आयोगले पुनः २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

बिहीबार आयोगको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता शालिग्राम शर्मा पौडेलले स्थापितलाई काठमाडौंका मेयरका अर्का प्रत्याशी बालेन साहबारे गरेको टिप्पणीबारे स्पष्टीकरण सोधेको हो ।

स्थापितको अभिव्यक्ति निर्वाचन आचारसंहिता २०७८ अनुकुल नभएको आयोगले जनाएको छ । ‘नेपाल कम्युनिष्ट पार्टी एकीकृत मार्क्सवाद, लेनिनवादको तर्फबाट काठमाडौं महानगरपालिकाको प्रमुख पदको उम्मेदवार केशव स्थापितले सोही महानगरमा प्रतिष्पर्धी उम्मेदवार रहेका बालेन साहको विषयमा दिएको अभिव्यक्ति निर्वाचन आचारसंहिता २०७८ अनुकूल नभएकोले सो विषयमा आधार कारणसहित २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न आयोगले निर्देशन दिएको छ’, आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने ।

यसअघि काठमाडौंको एक कलेजमा आयोजित कार्यक्रममा स्थापितले दिएको अभिव्यक्तिमाथि आयोगले स्पष्टीकरण सोधेको थियो । स्थापितले त्यसको जवाफ बिहीबार मात्र बुझाएका थिए । जवाफमा उनले आफूले आचारसंहिता उल्लंघन नगरेको दाबी गरेका थिए । स्थापितले आफ्ना ुप्रस्ट अभिव्यक्तिुले कसैको चरित्र हत्या भएको र निर्वाचन आचारसंहिता उल्लंघन भएको भन्न नमिल्ने दाबी गरेका थिए ।

त्यस्तै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई आयोगले लिखित जवाफ पेस गर्न आदेश दिएको प्रवक्ता शर्माले बताए ।

मुख्यमन्त्री भट्टले कैलाली जिल्लाको कैलारी गाउँपालिका वडा नम्बर ७ विपद्पुरका अग्निपीडित मुक्तकमैया बस्तीको स्थलगत निरीक्षणका क्रममा पीडित परिवारलाई तत्कालका लागि प्रतिपरिवार ५० हजार रूपैयाँका दरले राहत दिने प्रक्रिया अगाडि बढेको भन्ने अभिव्यक्ति दिएकाले निर्वाचन आचारसंहिता २०७८ को व्यवस्था बमोजिम २४ घण्टाभित्र लिखित जवाफ पेस गर्न आयोगले अनुरोध गरेको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार