हेलिकप्टर खरिद गर्न माग गर्दै अनसन सुरु गरे काठमाडौँका मेयर उम्मेदवार

काठमाडौँ महानगरपालिका प्रमुखका लागि उम्मेदवारी दिएका दीपक सिलवालले आमरण अनसन सुरु गरेका छन् । बिहीबारदेखि काठमाडौँको मध्य बानेश्वरमा रहेको चिनारी बोइज होस्टेलमा उनले आमरण अनसन थालेका हुन् । होस्टल सञ्चालकले माला र उनको संस्था ‘घर आँगन नेपाल’का कोषाध्यक्ष प्रवीण ढकालको हातबाट टिका र खादा लगाएर सिलवालले आमरण अनसन सुरु गरेका हुन् । उनको आमरण अनसनको एकसुत्रीय माग छ–‘सरकारले हेलिकोप्टर खरिद गर्नुपर्ने ।

‘गर्भवती महिला सुत्केरी हुने बेला अकाल मृत्युबाट बचाउन उद्धारका लागि सरकारले छुट्टै हेलिकोप्टर खरिद गर्नुपर्छ भन्ने मेरो माग हो । नेपालका दुर्गम जिल्लाका गाउँ बस्तीमा सुत्केरी हुने बेला समयमै अस्पताल पुग्न नपाएका कारण धेरै महिलाले ज्यान गुमाउनु परेको छ’ उनले भने, ‘सरकारले यसका लागि हेलिकोप्टर खरिद गर्ने प्रतिबद्धता नजनाएसम्म मेरो आमरण अनसन जारी रहन्छ ।’

स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिका प्रमुखका लागि स्वतन्त्र उम्मेदवारी दिएका उनले ‘रिक्सा’ चुनाव चिन्ह पाएका छन् । चुनाव चिन्ह पाए पनि सिलवाल चुनाव प्रचारका लागि न घरदैलो गर्न निस्किएका छन् नत कसैलाई फोन गरेर नै भोट मागेका छन् । न उनलाई चुनाव जितिन्छ भन्ने आस नै छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार