जबरजस्ती करणीको अभियोगमा थुनामा रहेका अभिनेता पल शाहको मुद्दामा बिहीबार पेशी तोकिए पनि सुनुवाइ हुन सकेन । थुनामै बसेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने तनहुँ जिल्ला अदालत र नवलपुर जिल्ला अदालतको आदेशविरुद्ध शाह रिट लिएर उच्च अदालत पोखरा पुगेका शाहको मुद्दामा बिहीबार पनि सुनुवाइ नभएकाे हाे ।
शाहको मुद्दामा यसअघि नै उच्च अदालत पोखराले दुवै जिल्लाको मुद्दालाई लगाउमा राख्न आदेश दिएको थियो । तर यहीबीचमा सरकारी वकिलले पल शाहका मतियारका रूपमा मुद्दा चलाइएको कृष्ण जोशीलाई पनि थुनामै राख्नुपर्ने माग गर्दै पुनरावेदनको निवेदन लगेपछि उच्च अदालत पोखराका न्यायाधीशद्वय उज्ज्वल शुक्ल र श्रीधरा कुमारी पुडासैनीको संयुक्त इजलासमा सबै मुद्दालाई लगाउमै राख्ने आदेश दिएका हुन् ।
कृष्ण जोशीको हकमा पनि सरकार पुनरावेदनको निवेदन लिएर उच्च अदालत गएपछि अब ती सबै मुद्दालाई लगाउमा राखी एकै स्थानमा सुनुवाइ गर्ने आदेश भएको हो ।