गठबन्धनको मुख्य काम आफ्ना सन्तान र नातागोताको व्यवस्थापन : अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन आफ्ना शाखा सन्तान र नातागोताको व्यवस्थापन गर्न बनेको आरोप लगाएका छन् । कैलालीको बर्दगोरिया गाउँपालिकाको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कुनै गन्तव्य नभएको गठबन्धनको उद्देश्य सरकारमा पुग्ने र आफन्त नातागोताको व्यवस्थापन गरेर बाँडिचुँडी खानेमात्र रहेको आरोप लगाएका हुन् ।

उनले पाँच दलीय गठबन्धनलाई स्थानीय तह निर्वाचनबाट बिदाइको सन्देश दिनुपर्ने बताएका छन ।

ओलीले भने, ‘यो परमादेशी गठबन्धन कसरी बनेको थियो भन्ने सबैलाई थाहा छ । २३ सिट ल्याएको कांग्रेस पार्टीका अध्यक्ष शेरबहादुर देउवा ढोडका लौरा टेकेर हिँड्न खोज्दै हुनुहुन्छ । यो परमादेशी सरकार हो, संसद र संवैधानिक प्रक्रियाबाट बनेको होइन । यो अन्तैबाट बनेका सरकारलाई हामीले बिदाई गर्ने सन्देश यस स्थानीय तहको निर्वाचनले दिनुपर्छ ।’

ओलीले कांग्रेसको घोषणपत्रमा आफ्ना सभापतिको नाम आठ ठाउँमा लेखेको र एमाले अध्यक्षको नाम ४२ ठाउँमा लेखेर गालीगलौज गरेको बताए ।

ओलीले मुलुकमा अहिले एमाले एकातिर र गठबन्धन अर्कोतिर रहेको भन्दै कांग्रेसले घोषणापत्रमा एमालेले गरेका विकासको विरोध गरेको आरोप लगाए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार