गृहमन्त्री बालकृष्ण खाण र तिलोत्तमा नगरपालिकामा कांग्रेसका तर्फबाट मेयरका उम्मेदवार रामकृष्ण खाणविरुद्ध निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै उजुरी परेको छ । उनीहरू दाजुभाइ हुन् ।
तिलोत्तमा नगरपालिका– २ का दिपेश कंडेलले उनीहरुविरुद्ध उजुरी गरेका हुन् । उनीहरुले आचारसंहिता उल्लंघन गरेकाले कारवाही गर्नु पर्ने कंडेलको माग छ । गृहमन्त्री खाणले निर्वाचन आचारसंहिताविपरीत रुपन्देहीको तिलोत्तमामा विभिन्न चुनावी अभियानमा सहभागी भएको उजुरीमा उल्लेख छ ।
उम्मेदवार वा कुनै राजनीतिक दलको चुनाव प्रचारमा संघ वा प्रदेश सरकारका मन्त्री वा स्थानीय सरकारका जनप्रतिनिधि सहभागी हुन आचारसंहिताले रोक लगाएको छ । आचारसंहिताविपरीत गृहमन्त्री कांग्रेसको चुनावी कार्यक्रममा सहभागी भएका थिए ।
त्यस्तै कांग्रेस उम्मेदवार खाणले निर्वाचन आचारसंहितविपरीत सार्वजनिक स्थानमा प्रचार सामग्री राखेको भन्दै उजुरी परेको छ । आचारसंहिताविपरित उम्मेदवार खाणको प्रचार सामग्री योगीकुटी सडक किनारमा राखिएको थियो ।