भरतपुरका बागी जगन्नाथद्वारा देउवासँग भेटवार्ता गर्न अस्वीकार

काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले चितवनको भरतपुर महानगरपालिकामा गठबन्धनका बागी उम्मेदवार जगन्नाथ पौडेलसँग भेटवार्ता गरेका छन् । पौडेलले भरतपुरको होटल सिराँगचुलीमा बागी उम्मेदवार जगन्नाथसँग भेटवार्ता गरेका हुन् । भेटवार्तामा पौडेल सहित प्रस्तावक कृष्णलाल सापकोटा, समर्थक मीना खरेल र पूर्वसांसद भीमबहादुर श्रेष्ठको पनि उपस्थीति रहेको थियो ।

गठबन्धनको चुनावीसभालाई सम्बोधन गर्न भरतपुर पुगेका पौडेलले उनीहरुलाई भेटेर उम्मेदवारी फिर्ता लिन आग्रह गरेका थिए । जवाफमा उनीहरुले काँग्रेस जोगाउन स्वतन्त्र उम्मेदवारी दिएको भन्दै फिर्ता नहुने बताएका थिए । सत्ता गठबन्धन सहमतिअनुसार भरतपुर महानगरको मेयर माओवादी केन्द्रलाई दिएपछि काँग्रेस नेता जगन्नाथले विद्रोह गरेका छन् ।

भरतपुरको मेयरमा गठबन्धनबाट माओवादी केन्द्रकी रेनु दाहाल र उपमेयरमा काँग्रेसका चित्रसेन अधिकारी उम्मेदवार छन् । प्रधानमन्त्री एवम् शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्डसहितका नेताहरूले छलफल गर्ने भनिए पनि उनीहरू पौडेललाई मात्रै भेटेर फर्किएका छन् । जगन्नाथले सभापति देउवालाई भेट्न अस्वीकार गरेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार