सिटीलाई हराउँदै रियल म्याड्रिड च्याम्पियन्स लिगको फाइनलमा

स्पेनिस क्लब रियल म्याड्रिडले युइएफए च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । गएराति भएको सेमिफाइनलको दोस्रो लेगमा इंग्लिस क्लब म्यानचेस्टर सिटीमाथि ३–१ को पूनरागमन तथा समग्रमा ६–५ को जित निकाल्दै रियल फाइनलमा स्थान पक्का गरेको हो ।

दोस्रो लेगमा ब्राजिली फरवार्ड रोड्रिगोले दुई तथा करिम बेन्जेमाले एक गोल गरे । सिटीका लागि रियाद महारेजले एक गोल गरेका थिए ।

खेलको ७३औं मिनेटमा महारेजले गोल गर्दै सिटीलाई दोस्रो लेगमा १–० को अग्रता दिलाए । तर, त्यसपछि खेलको दोस्रो हाफमा मैदान प्रवेश गरेका रोड्रिगोले ९०औं मिनेटमा गोल गर्दै जितको सम्भावना कायमै राखे । त्यसको एक मिनेटपछि नै रोड्रिगोले व्यक्तिगत दोस्रो गोल गर्दै रियललाई बराबरीमा ल्याए ।

त्यसपछि अतिरिक्त समयको पाँचौ मिनेटमा कप्तान बेन्जेमाले पेनाल्टीमा गोल गर्दै रियललाई समग्रमा ६–५ को जित  दिलाए । अब रियलले उपाधिका २९ मे मा इंग्लिस क्लब लिभरपुलको सामना गर्नेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार