जिम्बावे ‘ए’ माथि नेपालको सानदार जित

ओपनर आसिफ शेखको उत्कृष्ट ब्याटिङमा नेपालले तेस्रो टि२० अभ्यास खेलमा जिम्बावे ए माथि ८ विकेटको जित हात पारेको छ । जितको लागि १ सय ३७ रनको विजयी पछ्याएको नेपालले १५.५ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा ओपनर तथा विकेटकिपर आसिफ शेख ५४ बलमा १३ चौका र १ छक्कासहित ८७ रनमा अविजित रहे ।

पहिलो विकेटका लागि आसिफ र कुशल भुर्तेलले ९.३ ओभरमा ८८ रनको साझेदारी गर्दै जितको आधार सहज बनाएका थिए । कुशल भुर्तेल २६ बलमा २ चौका र २ छक्कासहित ३४ रनमा बोल्ड भए । ब्रेन्डन मभुताले कुशललाई बोल्ड गरेका थिए बसिर अहमद १० रनमा आउट भए ।

त्यसअघि टियु मैदानमा टस जितेर ब्याटिङ थालेको जिम्बावे ए ले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ३६ रन बनाएको थियो । जिम्बावे ए का रोय कैयाले ४१ बलमा ७ चौकासहित सर्वाधिक ४९ रन बनाए । ओपनर इनोसेन्ट कैया १४, टडिवानाशे मरुमानी २७ र टोनी मन्योङ्गा २ रनमा आउट भए । ल्यूक जांगवे २३ बलमा २ चौकासहित २३ रनमा अविजित रहे ।

नेपालका सन्दीप लामिछानेले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिए । सोमपाल कामीले ४ ओभरमा १९ रन खर्चेर १ विकेट लिए । बसिर अहमदले ४ ओभरमा १८ रन खर्चेर १ विकेट लिए । योसँगै तीन टि२० खेलको सिरिज १–१ को बराबरीमा सकिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार