माधव नेपाललाई हराएका झक्कुप्रसाद आफ्नै छोरासँग भिड्दै

पहिलो संविधानसभा निर्वाचनमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई चुनावमा हराएर चर्चा कमाएका रोल्पाली माओवादी नेता झक्कुप्रसाद सुवेदी यतिबेला असजिलोमा छन् । स्थानीय तह निर्वाचनमा झक्कु सुवेदीका छोरा सन्तोष सुवेदी विप्लव नेतृत्वको नेकपाको निर्देशन बमोजिम स्वतन्त्रबाट वडाध्यक्षमा उम्मेदवार बनेका छन् ।

बुवा नेकपा माओवादी केन्द्रका केन्द्रीय नेता हुन् भने छोरा विप्लवका जिल्ला स्तरीय नेता हुन् । छोरा नै अर्को दलको प्रतिनिधित्व गर्दै स्वतन्त्रबाट उम्मेदवार बनेपछि सकस थपिएको हो । माओवादी केन्द्रका नेतासमेत रहेका उनीहरू रोल्पा सुनिल स्मृति गाउँपालिका वडा नं. ६ गजुलका स्थायी वासिन्दा हुन् । वडाध्यक्षको उम्मेदवार बनेका सन्तोष जनतामा आफूबारे धारणा राम्रो रहेको बताउँदै विपक्षले भ्रम छर्न खोजेको आरोप लगाउँछन् । ‘बुवाको कारण मेरो भोट घट्दैछ,’ उनी भन्छन् ।

माओवादी नेता झक्कुप्रसाद सुवेदीले छोरा फरक तरिकाले उम्मेदवार बने पनि आफूलाई कुनै असजिलो नभएको बताउँछन् । ‘मैले छोरालाई तिमी वडा अध्यक्षमा नउठ तिम्रो हैसियतमाथि हो भने तर मानेनन् । म त माओवादी लिडर भएकाले पार्टी कै प्रचार गरिरहेको छु । पार्टीको योजना अनुसार माओवादी केन्द्रको प्रचार प्रसारमा छु ।’

यतिबेला गजुलका मतदाता भने अन्यौलमा छन् । बुवाले एकातिर भोट माग्दै छन् भने छोराले आफ्नो लागि माग्दैछन् । एकै घरका बुवा र छोरा फरक धारमा हिँडेपछि स्थानीयसंगै आफन्तलाई पनि असजिलो भएको हो । यो समाचार आजको नागरिक दैनिकमा छ ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार