म्यादी प्रहरीलाई सम्मानजनक व्यवहार गर्न गृहमन्त्रीको निर्देशन

रुपन्देही । गृहमन्त्री बालकृष्ण खाणले स्थानीय तह निर्वाचनका लागि भर्ना भएका म्यादी प्रहरीलाई सम्मानजनक व्यवहार गर्न निर्देशन दिएका छन् । उनले अस्थायी भर्ना गरिए पनि म्यादी प्रहरीको भूमिका महत्वपूर्ण रहेकाले काममा लगाउँदा शीष्ट व्यवहार गर्न आग्रह गरे ।

आज गृह जिल्ला पुगेका गृहमन्त्री खाणले जिल्ला प्रशासन कार्यालय, रुपन्देहीमा भएको सुरक्षा निकायको बैठकमा सुरक्षा व्यवस्था चुस्त बनाउनसमेत सुरक्षा निकायलाई निर्देशन दिए । गृहमन्त्री खाँणले स्थानीय तह निर्वाचनमा मतदाता, मतदानस्थलमा खटिएका कर्मचारीलगायत आम नागरिकको सुरक्षा गर्ने दायित्व सरकारको भएको भन्दै त्यसका लागि सबै तयार रहन निर्देशन दिए ।

उनले चारवटै सुरक्षा निकायको समन्वयमा जिल्लाको सुरक्षालाई व्यवस्थित गरेर लैजान र मतदानस्थल, मतपेटिकाको सुरक्षामा पनि विशेष ध्यान दिन आग्रह गरे । उनले सुरक्षा निकायबाट सम्भावित जोखिम अध्ययन गरी अति संवेदनशील, संवेदनशील क्षेत्रको सुरक्षालाई विशेष ख्याल गर्न निर्देशन दिएका रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिए ।

बैठकमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, लुम्बिनी प्रदेश प्रमुख, नेपाली सेना, राष्ट्रिय अनुसन्धानका अधिकृत एवं रुपन्देही, कपिलवस्तु र नवलपरासीका प्रमुख जिल्ला अधिकारीको सहभागिता थियो । यस्तै, तीनवटै जिल्लाका सशस्त्र, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान प्रमुखको पनि सहभागिता थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार