उम्मेद्वारका घोषणा पत्र : ३६५ दिन नै दशैँ मनाउनेदखि हेलिकप्टरबाट बीउ छर्नेसम्म

डडेल्धुरास्थित भागेश्वर गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार खडक ठकुराठीको घोषणापत्र सामाजिक सञ्जालमा भाइरल भएको छ ।ठकुराठीले आफ्नो घोषणापत्रमा ८ वटा बुँदा समेटेका छन्।उनले दुई वर्षभित्रमा भागेश्वर गाउँपालिकाका जनताहरूको आधारभूत आवश्यकता पूर्ति गरी आवश्यक संरचना बनाएर गाउँपालिकालाई नगरपालिकामा घोषणा गरिने प्रतिवद्धता व्यक्त गरेका छन्।

स्वतन्त्र उम्मेदवार ठकुराठीले घोषणापत्रमा हेलिकोप्ट रबाट बीउ छर्नेदेखि जनताको घरमा ३६५ दिन नै दशैँ मनाउने सम्मका कार्यक्रम समेटेपछि उनको घोषणापत्र भाइरल बनेको हो।

गैरीबगडदेखि परशुराम नगरपालिकासम्म महाकाली नदीमा चार वर्षभित्रमा सुख्खा बन्दरगाह निर्माण गरी नेपाली झण्डा बाहक पानी जहाज चलाइने उनको घोषणापत्रमा उल्लेख छ।

उनले चितवनमा चलेजस्तै यहाँको महाकाली नदीको पानीमा जहाज चलाउन सकिने दाबी गरे।जनताहरूलाई सुख, समृद्धि र शान्तिको पूर्ण प्रत्याभूति दिलाई आनन्दित जनताहरूलाई ३ सय ६५ दिन नै दशैँ मनाउने वातावरण मिलाउने उनले वाचा गरेका छन्।

उनले कृषिलाई महत्वपूर्ण प्राथमिकतामा राखी भागेश्वरको खेतीयोग्य जमिनमा मौसमअनुसार हेलिकप्टरबाट बीउ छर्ने र हेलिकप्टरबाटै सिँचाइको व्यवस्था मिलाइने जनाए।

यसैगरी उनले टप्वाको डाँडादेखि भागेश्वोर मन्दिरसम्म भक्तजनहरूलाई लक्षित गरी केबुलकार निर्माण गरिने तथा बेरोजगार युवालाई भत्ताका साथै सीपमूलक तालिम प्रदान गर्ने बताए।

उनको चुनावी नारा ‘हर–हर ठकुराठी, घर–घर ठकुराठी’ छ। उनले आफू अहिले घरदैलो अभियानमा व्यस्त रहेको बताए। ३४ वर्षीय पूर्व सशस्त्र प्रहरीका जवानसमेत रहेका ठकुराठी चुनाव जित्नेमा विश्वस्त छन्।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार