बालिकालाई बन्धक बनाएर बलात्कार गरेको आरोपमा एक युवा पक्राउ

बालिकालाई अपहरण गरेर बलात्कार गरेको आरोपमा बाराको कलैया उपमहानगरपालिका–९ बाट प्रहरीले एकजनालाई पक्राउ गरेको छ । २०७८ माघ १० मा १२ वर्षीया बालिका अपहरणमा परेकी थिइन् । उनलाई त्यहाँबाट काठमाडौँमा ल्याएर बन्धक बनाएको अवस्थामा माघ २० मा प्रहरीले उद्धार गरेको थियो । वैशाख १७ मा आरोपीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

बन्धक बनाएर बलात्कारमा संलग्न रौतहटको कटहरिया नगरपालिका–७ घर भएका २० वर्षीय अफरोज अन्सारीलाई पक्राउ गरेको हो । आरोपीलाई बालिकालाई बारा र काठमाडौँमा पटक पटक बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।

कलैया–९ स्थित साथीको घरमा जाने क्रममा युवकले ती बालिकालाई अपहरण गरेका हुन् । आरोपीमाथि अपहरण शरीर बन्धक तथा जबर्जस्ती करणी मुद्दामा जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार