आईजीपीको विदाइमा गएनन् सिनियर एआईजी पोखरेल र थापा

काठमाडौं । नेपाल प्रहरीका आईजीपी शैलेश थापा क्षेत्रीलाई विदाइ गर्न आयोजित कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेल र सहकुलबहादुर थापा उपस्थित भएनन् ।

प्रहरी प्रधान कार्यालय, नक्सालले आईजीपी क्षेत्रीसहितका अवकाश पाउन लागेका उनका ब्याचका १९ उच्च प्रहरी अधिकृतलाई विदाइ गर्न कार्यक्रम राखेको थियो । आइतबार दिउँसो सरकारले तेस्रो वरियताका धिरजप्रताप सिंहलाई आईजीपीमा नियुक्त गरेपछि रुष्ट बनेका पोखरेल र थापा प्रहरी प्रधान कार्यालय, नक्सालको कार्यक्रममा सहभागी नभएका हुन् ।

सरकारले आईजीपीमा सिंहलाई नियुक्त गरेपछि पोखरेल र थापाले अदालतमा रिट निवेदन लिएर जाने तयारी गरेका छन् ।

कार्यक्रममा सहभागी एक उच्च प्रहरी अधिकृतका अनुसार विदाइ समारोहमा आईजीपी क्षेत्रीका ब्याचबाट एआईजी बढुवामा असन्तुष्टि जनाउँदै अदालतमा रिट निवेदन दिने डीआईजी घनश्याम अर्याल र ईश्वरबाबु कार्की पनि सहभागी भएका थिएनन् । उनीहरु पनि आईजीपी क्षेत्रीसँगै आइतबार राति १२ बजेदेखि अवकाशमा जानेछन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार