प्रमुख निर्वाचन आयुक्त थपालियाको अभिव्यक्तिप्रति वर्षमान पुनको आपत्ति

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपालियाको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।

आज श्रमिक दिवसको अवसरमा अखिल नेपाल ट्रेड युनियन महासंघले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता पुनले प्रमुख निर्वाचन आयुक्तको अभिव्यक्ति र प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्ति मिलेको भन्दै आपत्ति जनाएका हुन् ।

नेता पुनले आयोगलाई निष्पक्ष र व्यावसायिक भूमिका निर्वाह गर्न पनि आग्रह गरे । उनले आयोग ‘रेफ्री’को भूमिकामा बस्नुपर्ने पनि बताए । देशका विभिन्न ठाउँमा भएका निर्वाचन कार्यालयहरूले निष्पक्ष भूमिका खेल्न नसकेको उनको टिप्पणी छ ।

उनले एमाले अध्यक्ष ओली वामपन्थी नभएको आरोप समेत लगाए । एक्लै चुनाव लड्ने घोषणा गरेको एमालेले गोविन्दराज जोशी र कमल थापालाई लिएर हिँड्नुपर्ने अवस्था आएको उनको भनाइ छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार