आचारसंहिता उल्लघंन गरे उम्मेदवारी रद्द सम्मको कारबाही हुने

वैशाख ३० गते देशैभरि एकै चरणमा हुन लागेको स्थानीय तह निर्वाचनमा विभिन्न पदका लागि मनोनयन गरेका डेढ लाख उम्मेदवारहरू चुनावी प्रचारप्रसारमा जुटेका छन्।

वैशाख ११ र १२ गते उम्मेदवारि दर्ता गराएका करिब आठ हजार उम्मेदवारले मनोनयन फिर्ता लिएपछि बाँकी रहेका उम्मेदवारहरूले चुनावी अभियान तीव्र बनाइरहँदा आचारसंहिता पालनामा आयोगले सचेत गराएको छ।

चुनावी मैदानमा रहेका उम्मेदवारहरूले निर्वाचन आचारसंहिताको गम्भीर उल्लङ्घन गरे उनीहरूको मनोनयन नै रद्द गर्न सक्ने अधिकार आयोगलाई छ।

‘आचार संहिता उल्लङ्घन गरेको कारणले एक लाख रुपैयाँसम्म जरिवाना हुनसक्ने र उम्मेदवारी खारेज हुनेसम्मको व्यवस्था कानुनमा छ,’ आयोगका कानुनी सल्लाहकार गुरुप्रसाद वाग्लेले भने। निर्वाचन आचारसंहिताले बिहान ८ बजे अघि र साँझ ७ बजेपछि प्रचारप्रसारका गतिविधि गर्न रोक लगाएको छ।

‘जुलुस, आमसभा, कोणसभा, बैठक भेला वा प्रचारप्रसारका कार्यक्रम गर्दा बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म मात्र गर्नुपर्ने,’ स्थानीय तह निर्वाचनका लागि हालै संशोधित निर्वाचन आचारसंहिता २०७८ मा भनिएको छ।

आचारसंहिताले निर्वाचन प्रचारप्रसारका गतिविधिमा १८ वर्ष मुनिका बालबालिकाको प्रयोगलाई पनि निषेधित गरेको छ। आयोगले निर्वाचनमा मोटरसाइकल र्‍यालीको आयोजना गर्ने र अनलाइन, टेलिभिजन तथा सपिङ मलहरूमा उम्मेदवारका विज्ञापन राख्ने जस्ता भड्किला प्रचार प्रसारमा समेत बन्देज लगाएको छ।

उम्मेदवारी रद्द सम्मको कारबाही
निर्वाचन आयोग ऐन २०७३ले आचारसंहिताको गम्भीर उल्लङ्घन गर्ने उम्मेदवारको उम्मेदवारी समेत रद्द हुन सक्ने व्यवस्था गरेको छ।

‘कुनै उम्मेदवारले आयोगले बनाएको आचारसंहिताको उल्लङ्घन गरेको कारणबाट निर्वाचन स्वतन्त्र, स्वच्छ र धाँधलीरहित तवरबाट हुन नसक्ने कुरामा आयोग विश्वस्त भएमा त्यसको स्पष्ट आधार र कारण खोली आयोगले उम्मेदवारको उम्मेदवारी रद्द गर्न सक्नेछ,’ ऐनमा भनिएको छ।

उम्मेदवारी रद्द गर्ने निर्णय गर्नुअघि आयोगले आचारसंहिता उल्लङ्घन गर्ने उम्मेदवारलाई सफाइको मौका दिनुपर्ने कानुनी व्यवस्था छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार