काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनमा उठेका अन्य दलका उम्मेदवारहरू चर्चासमेत गर्न लायक नरहेको टिप्पणी गरेका छन्। अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले उम्मेदवार बन्ने इच्छा गर्नु अन्य दलका उम्मेदवारहरूको अधिकारको कुरा भए पनि उनीहरू चर्चा गर्न लायक नभएको बताएका हुन्।
उनले आवश्यकता नै नभएका अन्य दलका उम्मेदवारहरूलाई छोडेर सूर्य चिन्हमा मतदान गरी एमालेका उम्मेदवारहरूलाई विजयी गराउन पनि सबैलाई आह्वान गरे।
अध्यक्ष ओलीले काठमाडौंलाई विश्वकै नमूना राजधानी बनाउने, सफा राजधानी बनाउने र यहाँका बागमती, विष्णुमती नदीलाई पूर्ण सफा बनाउने संकल्पका साथ एमालेले काठमाडौं महानगरपालिकाको उम्मेदवार बनाएको पनि जिकिर गरे।
उनले केशव स्थापितको अनुभव र अन्य युवा उम्मेदवारहरुको जोशलाई मिलन गरेर काठमाडौं महानगरपालिकालाई आफ्नो पार्टी समृद्ध बनाउन चाहेको पनि स्पष्ट पारे।
अध्यक्ष ओलीले भने, ‘कसैको उम्मेदवारीको बारेमा म केही भन्न चाहन्नँ। किनभने चर्चा गर्न लायक नै छैनन्। केही कुरा गरिरहनु पर्ने आवश्यकता नै छैन। त्यसकारण म कसैको बारेमा केही भनिरहन चाहन्नँ। साथीहरूले कतिपयले इच्छा गर्नु भएको छ। इच्छा गर्न पाइन्छ। उहाँहरूको अधिकारको कुरा हो। उहाँहरूले इच्छा गर्नुपर्छ। उहाँहरूको इच्छालाई सलाम गरौँ। सूर्यमा भोट हालौँ। एमालेलाई जिताऔँ, काठमाडौँलाई सफा गरौँ।’