बुद्धभूमि नगरपालिकामा वडाध्यक्षका उम्मेदवारको मृत्यु, निर्वाचन कार्यक्रम स्थगित

कपिलवस्तु जिल्लाको बुद्धभुमि नगरपालिका वडा नम्बर ८ को वडा अध्यक्षका उम्मेदवारको मृत्यु भएको छ । मुटुमा समस्या देखिएपछि भारतको लखनऊमा उपचारका लागी लगिएका नेकपा एमाले पार्टीका वडा अध्यक्षका उम्मेदवार ओमप्रकाश तिवारीको शुक्रबार राति ११ बजे मृत्यु भएको हो ।

तिवारीको मृत्यु भएपछि निर्वाचन कार्यक्रम स्थगित भएको नगरपालिकाका निर्वाचन अधिकृत महेश पाण्डेले जानकारी दिए । आयोगले शनिबार सबै दल तथा उम्मेदवारहरूलाई निर्वाचन चिन्ह प्रदान गर्ने तालिका छ ।

त्यो कार्यक्रम बुद्धभूमि नगरपालिकामा रोकिएको तर वैशाख ३० गते हुने चुनाव भने नरोकिने निर्वाचन अधिकृत पाण्डेले बताए । ‘अहिले स्थगित भए पनि त्यसले ३० गते हुने चुनावलाई असर गर्दैन । तर आज निर्वाचन चिन्ह दिनुपर्ने काम चाहिँ नगरभरि नै स्थगित भएको छ,’ उनले भने, ‘नगरको कार्यक्रम तालिका मात्रै तलमाथि हुने मात्र हो ।’

४१ वर्षीय तिवारीका एक श्रीमती, तीन छोरी र एक छोरा छन । सो वडामा उनीसहित नेपाली काँग्रेस, लोसपा, राप्रपा, नेकपा माओबादी केन्द्र र नेपाली कांग्रेस बिपीका गरी ६ उम्मेदवार प्रतिस्पर्धामा थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार