नेपाली शान्ति सैनिकमाथि बलात्कारको आरोप

प्रमाणित भए कस्ताे हुन्छ कारवाही ?

संयुक्त राष्ट्रसङ्घले शान्ति सेनामा खटिएको अवस्थामा सुरक्षाकर्मीद्वारा भएका बलात्कारमा स्वदेशमै त्यस्ता घटना भएको अवस्थामा लागु हुने कानुनी अभियोजन र कारबाही हुनुपर्ने अपेक्षा रहेको बीबीसीलाई बताएको छ।

संयुक्त राज्य अमेरिकाको विदेश मन्त्रालयले यसै महिना सार्वजनिक गरेको विश्वव्यापी मानव अधिकार प्रतिवेदनमा अघिल्लो वर्ष प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा कार्यरत रहेका चार नेपाली शान्ति सैनिकले नाबालिग बलात्कारको आरोप बेहोरिरहेको उल्लेख गरिएको थियो।

ती आरोपको छानबिन गरेर प्रतिवेदन बुझाइएको र ‘यौन दुर्व्यवहार र शोषण’को आरोपमा एक जनालाई बर्खास्त गरिएको अनि तीन सैनिक निर्दोष पाइएको नेपाली सेनाले बताएको थियो।

राष्ट्रसङ्घको शान्ति सेना हेर्ने निकायका एक प्रवक्ताले नेपालले पठाएको प्रतिवेदनका बारेमा समीक्षा भइरहेको प्रतिक्रिया दिएकी छन्।

बलात्कारको आरोप प्रमाणित भए के हुन्छ ?
शान्ति सेना हेर्ने राष्ट्रसङ्घीय निकाय डिपार्टमन्ट अफ पीसकीपिङ अपरेशन्सकी ती प्रवक्ताले संयुक्त राष्ट्रसङ्घको आफ्नै अदालत नभएको तर सैनिक उपलब्ध गराउने देशहरूले नै त्यस्ता अपराधमा पीडकहरूलाई उत्तरदायी बनाउन सक्ने बीबीसीलाई बताएकी छन्।

‘यौन दुर्व्यवहार प्रमाणित भएका कुनै पनि सैनिकको अभिलेख एउटा डेटाबेसमा राखिन्छ जसले गर्दा उनीहरूलाई पुनः रोजगारी वा राष्ट्रसङ्घीय प्रणालीमा काम गर्ने अवसर दिइँदैन,’ उनले भनिन्।

‘अपराध प्रमाणित हुने घटनाहरूको सन्दर्भमा संयुक्त राष्ट्रसङ्घले त्यस्ता अपराधको अनुसन्धान र त्यसपछिको सम्भावित कारबाहीका लागि आरोपित व्यक्तिका देशमा पठाउँछ। सदस्य राष्ट्रहरूलाई त्यसरी पठाइएका घटनाहरूमा कस्तो कारबाही गरिन्छ भनेर राष्ट्रसङ्घलाई जानकारी गराउन भनिएको छ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार