एक नगर प्रमुखसहित धनुषाका चार जनप्रतिनिधिसँग माओवादीले सोध्यो स्पष्टीकरण

नेकपा माओवादी केन्द्र धनुषाले जिल्लाका चारजना जनप्रतिनिधिसँग स्पष्टीकरण सोधेको छ । नेकपा खारेज भएपछि एमालेमा सक्रिय भएको भन्दै माओवादीले धनुषाका एक मेयर र ३ उपमेयरसँग स्पष्टीकरण सोधेको हो ।

विदेह नगरपालिकाका नगर प्रमुख बेचन दास, उप प्रमुख निलमदेवी मण्डल, शहीदनगर नगरपालिकाका उप प्रमुख शिलादेवी कापर र सबैला नगरपालिकाका उप(प्रमुख निलुदेवी कापरसँग स्पष्टीकरण सोधेको हो । उनीहरुलाई सोमबार पत्र पठाएको माओवादीले जनाएको छ ।

पत्रमा भनिएको छ, ‘सर्वोच्च अदालतको निर्णय अनुसार पार्टी पुरानै अवस्थामा फर्केपनि पार्टीको कार्यक्रमहरुमा तपाईंको सहभागिता के कति कारण भइरहेको छैन ? तपाईंले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) त्याग गरेको हो वा होइन ? तथा तपाईंको आफ्नो स्थानीय तहमा पार्टीको पक्षमा क्रियाशीलता के कति कारणले छैन ?’

पार्टी स्रोतका अनुसार विदेह नगरपालिकाका केही वडा अध्यक्षहरूलाई समेत स्पष्टीकरण सोधिएको छ । स्पष्टीकरण सोधिएका वडाध्यक्ष भने पार्टीमा पुनः सक्रिय रूपमा काम गर्न सकारात्मक रहेको स्रोतले जनाएको छ ।

स्पष्टीकरण पत्रमा माओवादी केन्द्र धनुषाका ईन्चार्ज योगकुमार बरबरिया यादव (जीवन) र जिल्ला सचिव दीपक यादवको संयुक्त हस्ताक्षर छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार