उम्मेदवारका बारेमा अप्रमाणित आरोपलाई स्थान नदिन प्रेस काउन्सिलकाे चेतावनी

काठमाडौं । प्रेस काउन्सिल नेपालले दुष्प्रचारयुक्त तथा घृणास्पद अभिव्यक्तिलाई स्थान नदिन सञ्चारमाध्यमलाई अपिल गरेको छ । काउन्सिलले कुनै दल वा उम्मेदवार विशेषको प्रचार–प्रसारलाई अतिरञ्जना नगर्न–नगराउन सञ्चार माध्यम, पत्रकार, सञ्चारकर्मी, सामाजिक सञ्जालका प्रयोगकर्ताहरूमा अपिल गरेको छ ।

स्थानीय तह निर्वाचनको संघारमा विभिन्न उम्मेदवार लक्षित गरेर त्यस्ता सामाग्री सम्प्रेषण भएका गुनासा, उजुरी आइरहेको सन्दर्भमा काउन्सिलले शुक्रवार यस्तो अपिल जारी गरेको हो ।

काउसिन्सलले भनेको छ–पछिल्लो समयमा राजनीतिक दल तथा उम्मेदवारका बारेमा आधारहीन, अप्रमाणित तथ्यहरूलाई लिएर विभिन्न टीकाटिप्पणी, आरोप प्रत्यारोप, दुष्प्रचार हुने, चरित्रहत्या हुने किसिमले सामग्री सम्प्रेषणका घटनाहरू बढिरहेका छन् भने कुनै राजनीतिक दलका नेताहरूले अर्को राजनीतिक दल तथा दलका नेताहरुविरुद्ध द्वेषपूर्ण अभिव्यक्ति दिने गरेको र सोलाई समेत प्राथमिकता दिई सञ्चार माध्यमहरूबाट सम्प्रेषण भएको स्वअनुगमनबाट देखिएको छ ।

त्यस्ता सामग्री सम्प्रेषण गर्ने १६ सञ्चार माध्यमलाई स्पष्टीकरण माग गरिएको, ४ वटालाई निर्देशन दिइएको, २ वटालाई ध्यानाकर्षण गराइएको र दर्ता नभएको १ वेब पोर्टललाई नेपालभित्र सम्प्रेषण नहुने गरी कारबाही गरिएको समेत काउन्सिलले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार