विवादपछि राष्ट्रिय फुटबल टिमको क्लोज क्याम्पमा ‘सी’ डिभिजनका खेलाडी

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले एसिया कप छनोटको बन्द प्रशिक्षणमा शुक्रबार १७ जना खेलाडीलाई बोलाएका छन् । योसँगै बन्द प्रशिक्षणमा रहने खेलाडीको संख्या ३२ पुगेको छ ।बन्द शिविरमा रहेका १० जना खेलाडी बाहिरिएपछि प्रशिक्षक अल्मुताइरीले १७ जना खेलाडीलाई थपेका छन् ।

यसअघि २५ जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएकामा १० जना खेलाडी अल्मुताइरीसँगको विवादपछि टिमबाट बाहिरिएका छ्न् । तीबाहेक कप्तान किरण चेम्जोङ विदेशमा छन् भने देवेन्द्र तामाङ आफन्त विरामी भएका कारण बन्द शिविर सहभागी हुन सकेका छैनन् ।

थप गरिएका खेलाडीमा करिब आधा जति विभागीय टिमका हुन् भने सि डिभिजन क्लबबाट खेलिरहेका खेलाडीलाई पनि बोलाइएको छ ।आर्मीका जर्ज प्रिन्स कार्की, विकेश कुथु, सेसेहाङ राई र विकाश तामाङ तथा नेपाल पुलिस क्लबका निरकुमार राई र एपीएफका राजन गुरुङ बोलाइएका छन् ।

बी डिभिजनमा झरेको बिग्रेड ब्वाइजका रोशन राना मगर तथा बी डिभिजन क्लबहरु भगवतीका सुनिल श्रेष्ठ र चर्च ब्वाइजका आशिष चौधरीलाई पनि बन्द शिविरमा बोलाइएको छ ।सी डिभिजन क्लब पुल्चोक स्पोर्टसका मनिष जर्गा मगरलाई पनि टिममा समावेश गरिएको हो।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार