भरतपुरमा फिर्ता भएन काँग्रेसका बागी उम्मेद्वार जगन्नाथको मनोनयन

भरतपुर महानगरपालिकाको मेयरमा बागी उम्मेदवारी दिएका नेपाली कांग्रेसका नेता जगन्नाथ पौडेलको उम्मेद्वारी कायम हुने भएको छ । त्यस्तै जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा बागी उम्मेदवारी दिएका नेपाली कांग्रेसका मनोज साहले पनि मनोनयन फिर्ता लिएनन् ।

निर्वाचन आयोगले उम्मदेवारी फिर्ता लिन दिएको शुक्रबार साँझ पाँच बजेसम्मको समयमा उनीहरूले उम्मेदवारी फिर्ता लिन अस्वीकार गरेका हुन्।

पार्टी सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतका धेरै नेताहरूको दबाबका बाबजुद् पौडेल आफ्नो अडानलाई यथावत् राखेका हुन्। उनको उम्मेदवारी फिर्ता गर्न गृहमन्त्री बालकृष्ण खाणले करिब ४० घन्टा भरतपुर बसेर कसरत गरेका थिए। उनीसँगै राज्यमन्त्री उमेश श्रेष्ठ पनि पौडेललाई फकाउन देउवाका प्रतिनिधिक‍ो रूपमा खटेका थिए। तर पौडेलले सबै नेतालाई आफू फर्कन नसक्ने अवस्थामा पुगिसकेको जवाफ दिएका थिए।

भरतपुर महानगरको मेयर पद माओवादी केन्द्रलाई दिने निर्णय गठबन्धनमा भएपछि जिल्लाका नेता कार्यकर्ताहरुले विरोध गर्दै आएका छन्। गठबन्धनबाट माओवादीकी रेनु दाहाल भरतपुरको मेयरको उम्मेद्वार बनेकी छन्। उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारी उम्मेद्वार छन्।

गृहमन्त्री खाँणलाई भरतपुरका वागी उम्मेदवार पौडेलले भने – मेरो उम्मेदवारी फिर्ता हुँदैन

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार