मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा वाइडबडी ए–३३० ले सफल अवतरण गरेपछि संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेम आलेले खुसी व्यक्त गरेका छन् । जहाजले ‘अपरेशनल पर्फमेन्स टेस्ट फ्लाइट’ सम्पन्न गरेपछि मन्त्री आलेले खुसीले गदगद भएको प्रतिक्रिया दिएका थिए ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेर नेपाल वायुसेवा निगमको वाइडबडी जहाज गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो ।
काठमाडौँ विमानस्थलबाट बेलुका ५ः१२ मा उडान भरेको निगमको वाइडबडी जहाज ५ः५५ मा गौतमबुद्ध विमानस्थलमा अवतरण गरेको थियो । विमानमा चालकदलका सदस्यसहित २६० यात्रु सवार थिए । यसमा पर्यटनमन्त्री प्रेमबहादुर आले, पर्यटन सचिव महेश्वर न्यौपाने, महानिर्देशक प्रदीप अधिकारी, प्राधिकरणका कर्मचारी, पर्यटन व्यवसायी, सञ्चारकर्मीलगायतको उपस्थिति थियो ।
गौतमबुद्ध विमानस्थलमा अवतरण गरेपछि पानीको फोहराले जहाजलाई स्वागत गरिएको थियो । तत्पश्चात् आयोजित कार्यक्रममा पर्यटन सचिव महेश्वर न्यौपानेले गौतमबुद्ध विमानस्थल सञ्चालनमा आउनु मुलुकका लागि ठूलो उपलब्धि हो, भने ।