युद्धका लागि तयार रहन भारतीय वायुसेनालाई एयर चिफको निर्देशन

भारतीय वायुसेना प्रमुख एयर चिफ मार्शल विआर चौधरीले सेना युद्धका लागि तयार हुनुपर्ने बताएको छन् । इन्डियन एक्सप्रेसका अनुसार बिहिबार लजिस्टिक्स व्यवस्थापनसँग सम्बन्धित एक सम्मेलनमा वायुसेना प्रमुखले छोटा युद्ध र पूर्वी लद्दाखमा झैँ लामो समयसम्मको तनावको स्थितिसँग जुध्नका लागि पनि सेनाको तयारी हुनुपर्ने बताएका हुन् ।

भने, ‘हालको भूराजनीतिक अवस्थामा भारतीय वायुसेनाले तत्काल सूचना दिएको खण्डमा छोटो अभियानका लागि तयार हुनुपर्छ । उच्च प्रभाव मिसनहरुको नयाँ प्याराडाइममा कम्तिमा बिल्ड–अप टाइम लाग्छ र यसका लागि लजिस्टिकको स्तरमा ठूला परिवर्तनको आवश्यकता छ ।’

उनका अनुसार वायुसेनासँग हतियारको ठूलो भण्डार छ, त्यसैले यस्तो समयमा लजिस्टिक्सको व्यवस्था गर्नु सबैभन्दा ठूलो चुनौती हुनसक्छ ।

सम्मेलनमा उनले पार्टपुर्जाको कमीतर्फ इशारा पनि गरे । रुस–युक्रेन युद्धका कारण आपूर्ति प्रभावित भइरहेको छ र आवश्यक पार्टपुर्जाको कमीको विषयमा चिन्ता व्यक्त गरिँदैछ । रुसले भारतलाई ठूलो परिमाणमा हतियारका लागि पार्टपुर्जा आपूर्ति गर्दछ ।

पत्रिकाका अनुसार वायुसेना प्रमुखले भने, ‘मलाई लाग्छ कि यो कमीसँग जुध्नका लागि हामीले समय अगावै अनुमान गर्ने र सामान जम्मा गरेर राख्ने सिद्धान्तमा काम गर्नुपर्छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार