उम्मेदवारी फिर्ता नलिए बागी उम्मेदवारलाई कारबाही

सत्ता गठबन्धन बैठकले विभिन्न स्थानीय तहमा आधिकारिक उम्मेदवारविरूद्ध उठेका बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेको छ।

बिहीबार बालुवाटारमा बसेको सत्तागठबन्धनको चुनावी तयारी तथा अनुगमन समिति बैठकले निर्वाचन आयोगले शुक्रबार साँझ पाँच बजेसम्म उम्मेदवारी फिर्ता गर्ने समय दिएको छ । म्मेदवारी फिर्ता नलिने बागी उम्मेदवारलाई कारबाही गर्ने सत्तागठबन्धनको तयारी छ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल संयोजक रहेको सत्तागठबन्धनको चुनावी तयारी तथा अनुगमन समिति बैठकले बागी उम्मेदवारलाई कारबाहीको चेतावनी दिएको हो।

कहाँ कहाँ बागी उम्मेदवारी परेको छ र आज अपरान्ह ५ बजेभित्र फिर्ता भए वा भएनन् भन्ने बुझेर कारबाहीका लागि शीर्ष नेताहरू तथा सम्बन्धित पार्टीलाई सिफारिस गर्ने समितिको तयारी छ।

वैशाख ३० मा हुने स्थानीय चुनावका लागि आजसम्म उम्मेदवारी फिर्ता लिन चाहनेलाई समय छ। आयोगले आजै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्दै छ।

स्थानीय तह निर्वाचनका लागि वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता गरिएको थियो । देशभरबाट एक लाख ५३ हजार भन्दा बढीको उमेदवारी दर्ता भएको थियो ।

सत्तारुढ दलबीच भागबण्डा गरी स्थानीय निर्वाचनमा होमिएको कांग्रेसभित्र पालिका भागबण्डामा केन्द्रीय हस्तक्षेप भएको भन्दै व्यापक असन्तुष्टि पोखिएको छ । साथै, धेरै पालिकाहरूमा कांग्रेस नेता तथा कार्यकर्ताले गठबन्धन र भागबण्डाप्रति असन्तुष्टि राख्दै स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

वैशाख ३० गते हुन गइरहेको स्थानीय निर्वाचनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा गरी पाँच दलका बीचमा देशभर नै स्थानीय अवस्थाअनुसार चुनावी तालमेल गर्ने सहमति भएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार