गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आज वाइडबडी जहाज अवतरण हुँदै

काठमाडौं । मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल रूपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आज वाइडबडी ए–३३० जहाजले उडान भर्दैछ।

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को वाइडबडी जहाजले गौतमबुद्ध विमानस्थलमा ‘अप्रेसनल पर्फमेन्स टेस्ट फ्लाइट’ गर्न लागेको हो।उक्त प्रयोजनका निम्ति निगमको वाइडबडी जहाज दिउँसो ३ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेर करिब ४५ मिनेटको उडानपश्चात् गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनेछ।

जुन नेपालको उड्डयन इतिहासमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ठूलो जहाजले उडान भर्न लागेको हो।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ७४ वर्षपछि अर्को नयाँ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ।नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इञ्जिनियर प्रदीप अधिकारीले नेपालमा दोस्रो विमानस्थल औपचारिक रूपमा सञ्चालनमा आउनु मुलुकका लागि महत्वपूर्ण उपलब्धि भएको बताए।

उनले भने, ‘नेपालको भूमिमध्ये काठमाडौंबाहेक अन्य भूमिमा पहिलोपटक वाइडबडी जहाज अवतरण गर्दैछ। नेपालको हवाई क्षेत्रको इतिहासको ७४ वर्षे इतिहासमा यो कोशेढुङ्गा भएको छ। अहिलेसम्म ठूला जहाज काठमाडौंमा मात्र उडान अवतरण गरिरहेका थिए।’

प्राधिकरणका अनुसार आजदेखि नै तराई क्षेत्रका आन्तरिक विमानस्थल दैनिक १८ घण्टा सञ्चालन हुँदैछन्।गौतमबुद्ध विमानस्थलमा पनि आजदेखि दैनिक १८ घण्टा र आगामी जेठ २ गतेदेखि २४ घण्टा अन्तर्राष्ट्रिय व्यावसायिक उडान सञ्चालन हुनेछ। महानिर्देशक अधिकारीले राष्ट्रिय गौरवको आयोजना सम्पन्न भएर पूर्ण कार्यान्वयनमा आएको पहिलो आयोजना भएको बताए।

नेपालमा अर्को अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको र विश्वभरका एयरलाइन्सले उडान गर्न सक्छन् भन्ने सन्देश प्रवाह गर्न पनि वाइडबडी जहाजबाट ‘अप्रेसनल पर्फमेन्स टेस्ट फ्लाइट’ परीक्षण उडान गर्न लागिएको हो।

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको बहुप्रतिष्ठित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल गत जेठ ८ गतेदेखि विधिवत रूपमा सञ्चालनमा आइसकेको छ। यद्यपि यो विमानस्थलमा आगामी जेठ २ गते बुद्धपूर्णिमाका दिनदेखि नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन हुनेछ। जजिरा एयरले उडान अनुमति लिएर आवश्यक तयारी गरिरहेको छ। अन्य एयरलाइन्सले पनि विमानस्थलबाट उडान भर्न चासो देखाएका छन्।

गौतमबुद्ध विमानस्थलमा न्यारोबडी र वाइडबडी जहाजले उडान–अवतरण गर्नेछन्। यो विमानस्थलमा यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) सम्पन्न भइसकेको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकै क्षमतामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुने प्राधिकरणले जनाएको छ। गौतमबुद्ध विमानस्थल रूग्ण अवस्थामा पुगेर चाँडो प्रगति हासिल गरेको आयोजना हो।

राष्ट्रिय गौरवका आयोजनामध्ये चाँडो प्रगति हासिल गर्ने नमूना आयोजना भएको प्राधिकरणको बुझाइ छ।सन् २०१७ डिसेम्बरभित्र निर्माण सक्ने गरी सन् २०१५ को सुरूमा थालनी भएको विमानस्थलको काम बीचमा ठेकेदार कम्पनीको लापरबाहीले अवरोध भएको थियो।

पछिल्लोपटक सन् २०२० को मार्चसम्म निर्माण सक्ने योजना रहे पनि कोभिड महामारीका कारण करिब पाँच वर्षपछि विमानस्थल व्यावसायिक रूपमा सञ्चालनमा आएको हो।

विमानस्थल चिनियाँ निर्माण कम्पनी नर्थवेस्ट सिभिल एभिएसन कन्स्ट्रक्सन ग्रुपले निर्माण गरेको हो।एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण भएको यो आयोजनाको पहिलो चरणमा करिब ११ अर्ब रुपैयाँ खर्च भएको प्राधिकरणले जनाएको छ।

अब दोस्रो चरणको टर्मिनल भवन पनि छिट्टै निर्माण प्रक्रिया अघि बढाइने छ।कूल ४५ मिटर चौडाइ र तीन हजार मिटर लामो धावनमार्गको यो विमानस्थललाई व्यावसायिक सञ्चालनमा आउँदा हालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप न्यूनीकरण हुने विश्वास लिइएको छ।

बढ्दो हवाई उडान चाप व्यवस्थापनका लागि प्राधिकरणले अन्तर्राष्ट्रिय विमानस्थललाई २४ सै घण्टा सञ्चालन गर्ने तयारी गरेको हो।टिआइएसहित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पनि अब २४ सै घण्टा सञ्चालन हुने प्राधिकरणले जनाएको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार