श्रीमान्–श्रीमती एउटै पार्टीबाट मेयर उपमेयरका उम्मेदवार

संखुवासभाको खाँदबारी नगरपालिकामा एउटै पार्टीबाट श्रीमान् श्रीमतीले मेयर उपमेयरमा उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । खाँदबारी नगरपालिकाको मेयरमा श्रीमान् सिताराम तिम्सिना र उपमेयरमा मैयाँदेवी चिमरियाले उम्मेदवारी दर्ता गराएका छन् । दुवैजनाले समाजवादी पार्टी नेपालको तर्फबाट उम्मेदवारी दिएका हुन् ।

खाँदबारी नगरपालिकामा मेयर पदका लागि लागि ३ जना स्वतन्त्र सहित ९ जनाले उम्मेदवारी दर्ता गराएका छन् । खाँदबारी नगरपालिका मेयरमा पाँच दलीय गठबन्धनबाट साझा उम्मेदवार नेपाली कांग्रेसका महेश थपलिया, उपमेयरमा नेकपा माओवादी केन्द्रका दिव्यराज बरालको उम्मेदवारी परेको छ । नेकपा एमालेबाट जितबहादुर घिमिरे र उपमेयर महेश्वराको उम्मेदवारी परेको छ । त्यस्तै राष्ट्रिय जनमुक्ति पार्टीका भरत राई र राष्ट्रिय जनमोर्चाका हेमकुमार गुरुङले मेयर पदमा मनोनयन दर्ता गराएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मेयरमा सोमनाथ खनाल र उपमेयरमा हिरादेवी श्रेष्ठले मनोनयन दर्ता गराएका छन् ।

यस्तै, स्वतन्त्र तीन जना प्रवीन कार्की, सुदीप गुरुङ र खड्गबहादुर दमाईले मेयर पदका लागि उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार