नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमा आज सुनुवाइ हुँदैछ । गत मंगलबार न्यायाधीशहरू सपना प्रधान मल्ल र टङ्कबहादुर मोक्तानको संयुक्त इजलासमा सुनुवाइ प्रारम्भ भए पनि समय अभावका कारण ‘हेर्दाहेर्दै’मा रहेको रिट निवेदनको सुनुवाइ हुन लागेको हो ।
गर्भनर अधिकारीले बिना जानकारी र बिना स्पष्टीकरण आफूमाथि छानबिन गर्ने भनेर समिति गठन गरिएको उल्लेख गर्दै उक्त निर्णय खारेज गर्न आदेश माग गर्दै अधिकारीले वैशाख ४ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
यसअघि न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले जाँचबुझ समिति गठन गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । उक्त अन्तरिम आदेशलाई निरन्तता दिने वा नदिने भन्ने विषयमा दुवै पक्षलाई छलफलमा बोलाउँदा गत मंगलबार समय अभावका कारण सुनुवाइ हुन सकेको थिएन ।
मन्त्रिपरिषद्को गत चैत २५ गते बसेको बैठकले गर्भनर अधिकारीमाथि छानबिन गर्न जाँचबुझ समिति गठन गर्ने निर्णय गरेको थियो । जाँचबुझ समिति गठन भएपछि अधिकारी स्वतः निलम्बनमा परेका थिए । तर, सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अदालतले अल्पकालीन अन्तरिम आदेश दिएसँगै गभर्नर अधिकारी काममा फर्किसकेका छन् ।