परीक्षणका लागि भोलि काठमाडाैं भैरहवा उडान गर्दै नेपाल एयरलाइन्स

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा नेपाल एयरलाइन्सले भोलि बिहीवार परीक्षण उडान गर्ने भएको छ । नेपाल एयरलाइन्सको एअरबस ए–३३० वाइडबडी जहाज भोलि दिउँसो ३ बजे काठमाण्डौबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि उड्ने भएको हो ।

जहाजमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले, सचिव, कर्मचारीहरू, पत्रकारलगायत गरी दुई सय ६० जना यात्रु रहने गौतमबुद्ध विमानस्थलले जनाएको छ । जहाज भैरहवा पुगेको दुई घण्टापछि फेरि काठमाडाैं  फर्कनेछ । दुई घण्टाको बीचमा विमानस्थलको प्रस्थान हलमा औपचारिक कार्यक्रम हुने छ । काठमाडाैंबाट पुगेका यात्रुलाई अन्तर्राष्ट्रिय विमानस्थलको नियमअनुसार नै सबै जाँच र सुरक्षाका प्रक्रिया पूरा गराइने छ ।

गौतमबुद्ध विमानस्थलमा गएको वैशाख १ गते नै नेपाल एयरलाइन्सको जहाजले परीक्षण उडान गर्ने तालिका रहे पनि विविध कारणले गर्दा ढिलाइ भएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार