आजदेखि घोषित लोडसेडिङ

काठमाडौं । नेपालमा फेरि लोडसेडिङ सुरु भएको छ । भारतले मागे जति बिजुली दिन नसकेपछि फेरि लोडसेडिङ सुरु भएको हो ।नेपालको माग धान्न भरतबाट दैनिक ३०० मेगावाट बिजुली ल्याउँदै आएको थियो । तर, भारतले यो परिमाणको बिजुली दिन नसक्दा फेरि लोडसेडिङ सुरु भएको नेपाल विद्युत् प्राधिकरणले जानकारी दिएको हो ।

भारतबाट चाहिएजति बिजुली पाउन छाडेपछि उद्योगमा राती ६ बजेदेखि बिहान ६ बजेसम्म १२ घण्टा लोडसेडिङ सुरु भएको छ । घरायसी र सामुदायिक ग्राहकका लागि भने बिजुली काटिने छैन ।

प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले ऊर्जा सङ्कटका कारण भारतले ३ दिन यता मागे जति बिजुली दिन नसकेको बताए । उनले अन्तर्राष्ट्रिय बजारमा कोइलाको मूल्य बढ्दा र भारतीय बजारमा बिजुलीको माग बढ्दा आपूर्ति प्रणाली खलबलिन पुगेको जानकारी दिए ।

हाल नेपालको उत्पादन ९०० मेगावाट छ । यस्तै पिक समयमा माथिल्लो तामाकोशी जलविद्युत आयोजना चलाउँदा १२०० मेगावाट बिजुली उत्पादन हुन्छ । तर, नेपालको माग १५०० देखि १६०० मेगावाट छ । उत्पादन र आपूर्तिको माग धान्न भारतबाट सरदर ३०० मेगावाटसम्म बिजुली आयात भइरहेको छ ।

तर, अप्रिल लागेसँगै भारतीय बजारमा बिजुलीको माग ह्वात्तै बढेको छ । यसअघि, १ लाख ८० मेगावाट माग रहेको भारतको माग हाल २ लाख मेगावाट पुगेको छ । यसले गर्दा भरतको एक्सचेन्ज मार्केटमा बिजुली पाउनै छाडेको घिसिङले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार