नबिल र स्टाण्डर्ड चार्टर्ड बैंकको बदमासी : राष्ट्र बैङ्कको निर्देशन विपरीत खोले एलसी 

नेपाल राष्ट्र बैंकको निर्देशन विपरित दुई बैंकले एलसी अर्थात् प्रतीतपत्र खोलेका छन् । नबिल बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंकले राष्ट्र बैंकको निर्देशनलाई व्यवास्ता गर्दै एलसी खोलेका हुन् । गत चैत २१ गते नेपाल राष्ट्र बैंकले २७ वाणिज्य बैंकका कार्यकारी प्रमुखहरुलाई बालुवाटरमै बोलाएर बिलासी वस्तुहरुमा एलसी नखोल्न निर्देशन दिएको थियो ।

विदेशी मुद्राको सञ्चिति दिनदिनै घटेपछि राष्ट्र बैंकले एलसी नखोल्ने निर्णय गरेको हो । तर निर्देशन दिएको भोलिपल्ट २२ गते पछि पनि २५ गतेसम्म लगातार एलसी खोलिएको पाइएको छ । यी बैंकले निर्देशनपछि ठूलो मात्रामा विदेशी मुद्रा बाहिरिने गरी एलसी खोलेका हुन् ।

एलसी रोक्ने निर्णय भएपछि पनि नबिल बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंकले व्यापारिक घरानाको सेटिङमा आयातको लागि एलसी खोलेको पाइएको छ । नबिल बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंकबाट ९ वटा एलसीमार्फत एक अर्ब १ करोड ५ लाख ९ हजार ५६७ रुपैयाँको एलसी जारी भएको छ ।

विशाल समूहलाई प्रतिबन्धित एलसी चैत्र २३ र २५ गते स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल मार्फत खोलिएको देखिएको छ । राष्ट्र बैंकले एलसी रोक्न दिएको निर्देशनपछि विशाल समूहले स्टाण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडको तीन वटा एलसीमार्फत चकलेट आयातको अनुमति पाएको छ ।  २३ र २५ चैतमा व्यवसायी अनुज अग्रवालको विशाल ग्रुप अन्तर्गतको युनाइटेड ट्रेडर्सले चकलेट, क्रिम, जिलेटका उत्पादन र लुगा धुने डिटरजेन्ट पाउडरका लागि एलसी खरिद गरेको देखिन्छ ।  प्रतिबन्धपछि मात्रै विशाल समूहलाई ७८ करोड २९ लाख १० हजार ५५७ रुपैयाँ बराबरको बिलासी वस्तु आयातको अनुमति दिइएको छ । चैत २५ गते एलसी नम्बर ‘४७७०१०२४०८१५– एल’ मार्फत ४ लाख १८ हजार ६८६ अमेरिकी डलरको एलसी खोलेको भेटिएको छ ।

एलसी नम्बर ‘४७७०१०२४०८२४–एल’ मार्फत अर्को २ लाख ४६ हजार ३६१ दशमलव ४० सेन्ट अमेरिकी डलरको चकलेटको आयात खुलेको छ भने एलसी नम्बर ‘४७७०१०२४०८२३३–एल’ मार्फत १ लाख ३८ हजार ६६७ अमेरिकी डलरको एलसी खुलेको भेटिएको छ । एलसी बन्द गर्ने निर्णयपछि विशाल समूहले ८ लाख ३ हजार ७१५.६० अमेरिकी डलर अर्थात् ९ करोड ८४ लाख २३ हजार १२ रुपैयाँ ३७ पैसा नेपाली रुपैयाँको चकलेट आयातका लागि एलसी खोलेको भेटिएको छ ।

यस्तै नबिल बैंकको एलसी नम्बर ‘२२ डिसी ०१ यूएसडी २५४३९’ मार्फत ११ लाख ३ हजार २४.४० अमेरिकी डलरको एलसी खुलेको देखिन्छ । नबिल बैंकको एलसी नम्बर ‘२२ डिसी ०१ आई एनआर ०२५०८३’ मार्फत ७ करोड ४५ लाख ७२ हजार ११६ रुपैयाँ ८ पैसा बराबरको लुगा धुने डिटर्जेन्ट पाउडर पनि आयातका लागि एलसी खुलेको छ । यो एलसी भारतीय रुपैयाँ ४ करोड ६६ लाख ७ हजार ५७३ दशमलव ५० पैसा भारुमा एलसी खुलेको थियो ।

यस्तै ज्योती समूह अन्तर्गतको स्याकार ट्रेडिङ कम्पनीले पनि आयात प्रतिबन्धपछि अर्थात् चैत २३ गते नबिल बैंकमार्फत् ४० करोड २० लाख २३ हजार ६८० रुपैयाँको एलसी खोलेको देखिन्छ । स्याकार नेपालका लागि होन्डा बाइक र गाडीको आधिकारिक बिक्रेता हो ।

विदेशी मुद्राको सञ्चिति घट्दा अर्थतन्त्र समस्यामा पर्न सक्ने भन्दै राष्ट्र बैंकले विलासिताका वस्तुहरुको एलसी नखोल्न  निर्देशन दिएको थियो । आयात बढेकाले शोधनान्तर घाटा चुलिएको र विदेशी मुद्रा सञ्चिति निरन्तर घटिरहेको छ । यो अवस्थाबाट सुधार ल्याउन भन्दै  राष्ट्र बैंकले आयतमा कडाई गर्दै आएको छ ।  चालु आर्थिक वर्षको ७ महिनामै मुलुकको अमेरिकी डलर सञ्चिति १७ प्रतिशतले घटेको छ । असार मसान्तमा यस्तो सञ्चिति ११ अर्ब ७५ करोड अमेरिकी डलर रहेकामा माघ मसान्तमा ९ अर्ब ७५ करोड छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा १० खर्ब २४ अर्ब ६३ करोड रुपैयाँ छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग विदेशी मुद्रा सञ्चिति माघ मसान्तसम्म १ खर्ब ४८ अर्ब ४२ करोड रुपैयाँ छ । सात महिनामा बैंकको विदेशी मुद्रा सञ्चितिमा ३.९ प्रतिशतले कमी आएको छ ।

आर्थिक वर्ष २०७८/७९ को ७ महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले ७.४ महिनाको वस्तु आयात र ६.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने राष्ट्र बैंकको दाबी छ । यो राष्ट्र बैंकले चालु आर्थिक वर्षमा कायम गर्न तय गरेको वार्षिक लक्ष्यभन्दा कम हो । राष्ट्र बैंकले विदेशी विनिमय सञ्चिति बढाउन निरन्तर विभिन्न उपाय अघि सार्दै आएको छ ।

अपेक्षाअनुसार रेमिट्यान्स आउन नसक्नु, पर्यटक आगमन शून्यप्रायः रहनु, वैदेशिक लगानीमा समेत उल्लेख्य सुधार नहुनु र उच्च आयातका कारण यस्तो अवस्था आएको बताइएको छ ।  अहिलेको विदेशी सन्चिती ६ महिनाको वस्तु तथा सेवा आयात समेत धान्न नसक्ने छ। यस्तो अवस्थामा राष्ट्र बैंकले प्रतीतपत्र (एलसी) नखोल्न दिएको निर्देशन नबिल बैंक र स्ट्यान्डर्ड चाटर्ड बैंकले उल्लघंन गरेका हुन् ।

ठूलो परिमाणमा एलसी खोल्ने नबिल  र स्ट्यान्डर्ड चाटर्ड  बैंकलाई भने राष्ट्र बैंकले स्पष्टीकरण समेत सोधेको छैन ।

 

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार