आङ सान सुकी भ्रष्टाचारको मुद्दामा पनि दोषी ठहर

काठमाडौं । म्यानमारको एक अदालतले प्रजातन्त्रवादी नेत्री आङ सान सुकीलाई भ्रष्टाचारको आरोपमा दोषी ठहर गरेर पाँच वर्ष जेल सजाय सुनाएको छ । सुकीले याङ्गुन सहरका पूर्व प्रमुखबाट नगद र सुनसहित गरी ६ लाख अमेरिकी डलर बराबरको घुस लिएको अदालतले पुष्टि गरेको हो ।

सुनुवाइका क्रममा मानव अधिकारकर्मी, सञ्चारमाध्यम लगायतलाई उपस्थित हुन रोक लगाइएको थियो । यस्तै नेत्री सुकीका वकिलहरूलाई पत्रकारहरूसँग बोल्न निषेध गरिएको बीबीसीले जनाएको छ ।

सन् २०२१ को फेब्रुअरीमा सेनाले सत्ता कब्जा गरेर सुकीलाई नजरबन्दमा राखेपछि यो मुद्दामा सहित दोषी ठहर गरेर सुनाएको जेल सजायको अवधि ११ वर्ष पुगेको छ । नोबेल पुरस्कार विजेता ७६ वर्षीया सुकीलाई मतदाता ठगीलगायत आपराधिक अपराधको अभियोग लगाइएको छ । सुकीले सबै आरोपहरू अस्वीकार गरेकी छिन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार