आगामी निर्वाचनमा एमालेलाई कसैले पराजित गर्न सक्दैन : शङ्कर पोखरेल

नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले आगामी निर्वाचनमा एमालेलाई कसैले पराजित गर्न नसक्ने बताएका छन् ।नेकपा एमाले सम्पर्क समन्वय कमिटीले मङ्गलवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा पोखरेलले एमाले मुलुकको सबैभन्दा ठूलो शक्तिको रूपमा स्थापित भइसकेको भन्दै आगामी निर्वाचनमा एमालेलाई कसैले पराजित गर्न नसक्ने बताएका हुन् ।

एमाले बलियो पार्टी भएकै कारण काँग्रेससहितका सत्तारुढ दलहरूले आफ्नो पार्टीसँग एक्लै चुनावी लड्ने आँट गर्न नसकेको उनको भनाई छ । उनले आफ्नो भविष्य रक्षाका लागि गठबन्धन बनाएर अघि बढे पनि उनीहरूको स्वार्थ नमिलेको दृश्य स्थानीय तहको मनोनयनका क्रममा देखिएको धारणा ब्यक्त गरे । पोखरेलले गठबन्धनको कुनै लक्ष्य, उद्देश्य रहेको भन्दै मुलुकको नेतृत्व गर्न नसक्ने उल्लेख गरेका छन् ।

त्यस्तै उनले नेपालको राजनीतिक इतिहासमा सबैभन्दा बढी विधि र प्रक्रिया उल्लङ्घन गर्ने नेता माधव कुमार रहेको बताए । एमालेमा रहँदा एक व्यक्ति, एक पदको नारा दिने माधव नेपालले अहिले आफु पार्टीको अध्यक्ष र संसदीय दलको प्रमुख बनेर बसेको भन्दै उनले एक व्यक्ति, एक पदको नारा दिएर नेकपा फुटाइएको आरोप लगाएका छन् ।

उनले अबको सबै निर्वाचनमा एमाले विजयी हुने र एमालेको झन्डा फहराउने दाबी गरे ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार