भक्तपुरमा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु

अरनिको राजमार्ग खण्डअन्तर्गत मध्यपुरथिमि चार दोबाटोमा टिपरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ भने पछाडि सवार गम्भीर घाइते भएका छन् ।

नयाँथिमीबाट कोरियन अस्पताल तर्फ जाँदै गरेको बा४ख ८५८१ नम्बरको टिपर र गठ्ठाघरबाट नयाँथिमी तर्फ आउँदै गरेको बा प्र०२-०२३ प ७७६९ नम्बरको स्कुटर सोमबार राति करिब साढे १२ बजेतिर ठोक्किएका थिए ।

उक्त दुर्घटनामा स्कुटर चालक, काभ्रेको बेथानचोक गाउँपालिका-६ घर भई हाल भक्तपुरको चाँगुनारायण नगरपालिका-३ झौखेल ठकुरी गाउँमा बस्दै आएका ३२ वर्षीय ज्ञानेन्द्र मल्ल ठकुरीको मृत्यु भएको छ । उनको मध्यपुर अस्पतालमा उपचारको क्रममा राति १ बजेर १९ मिनेटमा मृत्यु भएको भक्तपुर प्रहरीले जनाएको छ ।

सो दुर्घटनामा स्कुटर पछाडि बसेका म्याग्दीको बेनी नगरपालिका-४ घर भई हाल भक्तपुरको चाँगुनारायण नगरपालिका-३ झौखेल बस्ने ३३ वर्षीय विमल श्रेष्ठ घाइते भएका छन् । उनको मध्यपुर अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनामा संलग्न सवारीसाधन र टिपर चालक रामेछाप दोरम्बा गापा–४ घर भई हाल मध्यपुरथिमि–७ सिद्धिकाली बस्ने ३६ वर्षीय तुलबहादुर सापकोटालाई प्रहरी वृत्त थिमिको नियन्त्रणमा राखेर अनुसन्धान सुरु गरेको जनाइएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार