गण्डकी र सुदूरपश्चिमका नवनियुक्त प्रदेश प्रमुखले लिए शपथ

राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी र सुदूरपश्चिम प्रदेशमा नियुक्त भएका प्रदेश प्रमुखलाई पद तथा गोपनीयताको शपथ गराएकी छन् ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले गण्डकी प्रदेशमा सीता पौडेल र सुदूरपश्चिम प्रदेशमा गंगाप्रसाद यादव प्रदेश प्रमुखमा नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । उनीहरुलाई सोमबार अपरान्ह राष्ट्रपति भण्डारीले शपथ गराएकी हुन् । शपथ समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी थिए ।

पौडेल प्रधानमन्त्रीको जनसम्पर्क सल्लाहकार हुन् । उनी एमालेको भ्रातृ संगठन अखिल नेपाल महिलासंघकी अध्यक्ष समेत हुन ।

त्यस्तै यादव भने दोस्रो संविधान सभाका उपाध्यक्ष र उपभामुख भएका थिए । उनी राप्रपा नेपालबाट उपसभामुख बनेका थिए । तर, यादव २०७४ सालको प्रतिनिधिसभा चुनावअघि एमालेमा प्रवेश गरेका थिए । यादव समानुपातिक सूचीमा रहेका भए पनि सांसद भने भएका थिएनन् ।

गण्डकीमा अमिक शेरचन र सुदूरपश्चिममा शर्मिला कुमारी पन्त प्रदेश प्रमुख थिए, उनीहरुलाई मन्त्रिपरिषदको सिफारिश राष्ट्रपति भण्डारीले सोमबार नै पदमुक्त गरेकी छिन् । यसअघि एमाले र माओवादी केन्द्रबीच एकीकरण भएपछि प्रदेशप्रमुख नियुक्त भएका उनीहरु माओवादी केन्द्रमा आवद्ध थिए ।

यसअघि माओवादी केन्द्रमै आवद्ध रहेका प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरी राजेश झालाई जिम्मेवारी दिइएको थियो ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार