मेयरको उम्मेदवारी दिएका केशव स्थापितले भने – गेम इज ओभर

नेकपा एमालेका तर्फबाट काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दर्ता गराएका केशव स्थापितले सत्तारुढ गठबन्धनको भन्दा दोब्बर मत ल्याएर आफू निर्वाचित हुने दाबी गरेका छन् ।

मनोनयनको दोस्रो दिन सोमबार दिउँसो काठमाडौंस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गरेपछि उनले सञ्चारकर्मीसँग भने, ‘गठबन्धनको भन्दा डबल मत ल्याउँछु । गठबन्धनले ७० हजार मत ल्यायो भने म त्यसको डबल ल्याएर निर्वाचित हुन्छु ।’

काठमाडौंमा नेपाली कांग्रेसको स्थायी भोट ४५ हजार रहेको, माओवादीले २०७४ मा पाएको ७ हजार कायम राख्ने र एकीकृत समाजवादीले तीन हजार थप्ने हो भने पनि ५५ हजार मात्र पुग्ने भन्दै उनले भने, ‘८४ हजार भोट ल्याएको मान्छेलाई के चिन्ता ? गेम इज ओभर ।’

२०५४ सालमा ८५ हजार मत ल्याएर मेयरमा निर्वाचित भएको बताएका उनले यसपटक पनि आफू निर्वाचित हुने दाबी गरे ।    स्थापित काठमाडौं महानगरको पूर्वमेयर तथा बागमती प्रदेशका पूर्वमन्त्री र पूर्वसांसद हुन् ।

यसैगरी एमालेबाट काठमाडौं महानगरको उपमेयरमा भने सुनिता डंगोलको उम्मेदवारी दर्ता भएको छ । डंगोल पूर्व मिस नेवा हुन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार