आज अपरान्ह ५ बजेभित्र उम्मेदवारी दर्ता गरिसक्नुपर्ने

उम्मेदवारको नामावली आजै प्रकाशन हुने

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि दलहरुले उम्मेदवारी दर्ता गर्ने आज अन्तिम दिन हो । निर्वाचन आयोगले आइतबार र सोमबार उम्मेदवारको मनोनयन दर्ताका लागि समय दिएको थियो ।

आज बिहान १० बजेदेखि अपरान्ह ५ बजेभित्र मुख्य निर्वाचन अधिकृत कार्यालय र निर्वाचन अधिकृत कार्यालय पुगेर मनोनयन दर्ता गर्न सकिन्छ । आइतबार केही दलका नेता र स्वतन्त्र उम्मेदवारहरूले मात्रै उम्मेदवारी दर्ता गरेका थिए । आयोगका अनुसार आइतबार विभिन्न पदमा गरी देशभर कूल १० हजार पाँच सय ३३ जनाले उम्मेदवारी दर्ता गरेका थिए ।

मनोनयन दर्ताको काम सकिएपछि आजै साँझ उम्मेदवारहरूको नामावली प्रकाशन गरिने कार्यतालिका रहेको निर्वाचन आयोगले जनाएको छ । १३ वैशाखमा उम्मेदवारको विरोधमा उजुरी दिने, १४ र १५ वैशाखमा मनोनयनपत्र जाँच गर्ने तथा उजुरी उपर जाँचबुझ गरी निर्णय गरिने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।

१५ वैशाखमा मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन हुनेछ भने १६ वैशाखमा उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तालिका छ । १७ वैशाखमा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम छ ।

आयोगले मनोनयनपत्र दर्ता गर्न जाँदा निर्वाचन आचार संहिताले तोकेबमोजिमको आचरण पालना गरिदिन अपिल गरेको छ ।

देशभरका ७५३ स्थानीय तहको प्रमुखदेखि वडा सदस्य पदसम्मका लागि दलगत र स्वतन्त्ररुपमा समेत मनोनयनपत्र दर्ता हुनेछ ।

७५३ मध्ये ६ वटा महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिका छन् । यी सबै तहमा प्रमुख/उपप्रमुख तथा अध्यक्ष/उपाध्यक्ष र सदस्य पदका लागि मनोनयन हुनेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार