बागलुङमा नेकपा एसलाई छाडेर गठबन्धनले भागबन्डा टुङ्ग्याए

बागलुङमा नेकपा एकीकृत समाजवादीलाई पाखा लगाउँदै नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाले चुनावी भागबन्डा टुङ्ग्याएका छन् । ३० वैशाखमा तय भएको स्थानीय तहको निर्वाचनका लागि बागलुङमा सत्ता गठबन्धन दलका नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, र राष्ट्रिय जनमोर्चाबिच भागबन्डामा सहमति भएको हो ।
बागलुङका स्थानीय तहमध्ये  नेपाली काँग्रेसलाई ६, नेकपा माओवादी केन्द्रलाई दुई र राष्ट्रिय जनमोर्चालाई दुई वटामा प्रमुख पद पाउन सहमति भएको छ ।
सम्मानजनक बाँडफाँड नभएको भन्दै नेकपा एकीकृत समाजवादी भने गठबन्धनबाट बाहिरिएको हो ।  बागलुङ नगरपालिकाको प्रमुख सहित केही वडाध्यक्षमा एकीकृत समाजवादीको दाबी थियो ।
काँग्रेसले बागलुङ नगरपालिका र गलकोट नगरपालिकामा प्रमुख, काठेखोला गाउँपालिका, वडिगाड गाउँपालिका, निसीखोला गाउँपालिका र तमानखोला गाउँपालिकाको अध्यक्षमा साझा उम्मेदवारी दिने भएको छ ।
यस्तै माओवादी केन्द्रले ताराखोला गाउँपालिका र ढोरपाटन नगरपालिकाको प्रमुख पाउनेछ ।  राष्ट्रिय जनमोर्चाले जैमिनी नगरपालिकाको प्रमुख र बरेङ गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिने छ ।
बागलुङ नगरपालिका र गलकोट नगरपालिकामा माओवादी केन्द्रले उप प्रमुखमा उम्मेदवारी दिने छ । निसीखोला गाउँपालिकाको उपाध्यक्ष पनि माओवादी केन्द्रको भागमा परेको छ । राष्ट्रिय जनमोर्चाले काठेखोला गाउँपालिका, तमानखोला गाउँपालिका र बडिगाड गाउँपालिकाको उपाध्यक्ष पाएको छ ।
माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाले प्रमुख पाएका सबै पालिकामा नेपाली काँग्रेसले उपप्रमुख पाउने गरी सहमति भएको छ। वडा अध्यक्ष तथा वडा सदस्यको बाँडफाँडका लागि छलफल चलिरहेको छ ।
फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार