नेकपा एमालेले गण्डकी र लुम्बिनीका प्रदेश सांसदहरुलाई स्थानीय तहको उम्मेदवार नबनाउने भएको छ । बिहीबार बसेको सचिवालय बैठकले सरकार परिवर्तनको सम्भावनालाई ख्याल गर्दै उम्मेदवार नबनाउने भएको हो । एमाले प्रचार विभाग प्रमुख पृथ्बीसुब्बा गुरुङका अनुसार मेयरमा सिफारिस भएका १२ जनामध्ये प्रदेशसभाका सदस्यलाई उम्मेदवार नबनाउने भएको छ ।
केन्द्रीय सचिवालय बैठकमा भएको छलफल अनुसार गण्डकी प्रदेशमा कुनै पनि बेला सरकार परिवर्तन हुनसक्ने र त्यसमा एक सांसदमात्र तलमाथि हुँदा एमालेको सरकार बन्ने भएकाले प्रदेश सांसदलाई मेयर उम्मेदवार नबनाइने निर्णय गुरुङले जानकारी दिए । एमालेले पोखरा महानगरपालिकाले मेयरमा सिफारिस गरेका १२ जनामध्ये दुई जना प्रदेशसभा सदस्य छन् । जसमा मेयरमा प्रदेशसभा सदस्य कृष्ण थापा र राजिव पहारीको नाम पनि छ । एमालेको यो निर्णयसँगै थापा र पहारीले मेयरको उम्मेदवार हुन नपाउने भएका छन् ।
त्यस्तै एमालेले शनिबारसम्म महानगर र उपमहानगरको मेयरका उम्मेदवार टुंगो लगाउने भएको छ। शनिबार बालकोटमा बस्ने बैठकले महानगर र उपमहानगरको मेयरका उम्मेदवार टुंगो लगाउने नेता गुरुङले बताएका छन् ।
एमालेले भोलि (शुक्रबार) पार्टी स्थापना दिवसको अवसर पारेर घोषणा पत्र जारी गर्दैछ।