आफ्नै निर्णयविपरीत बालुवाटारमा कांग्रेस बैठक

सत्तारुढ दल नेपाली कांग्रेसले आफ्नै निर्णयविपरीत पार्टीको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा राख्न थालेको छ ।   गत ७ साउनमा पार्टीको बैठक बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा नराख्ने निर्णय गरेको कांग्रेसले पछिल्लो समय कांग्रेस तथा पाँच दलीय गठबन्धनको बैठक बालुवाटारमै राख्दै  आएको छ ।

कांग्रेसको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा नराख्ने भन्दै ८ साउनमा डाकिएको पार्टी बैठकलाई सभापति शेरबहादुर देउवाको निजी निवास बुढानिलकण्ठमा राखिएको थियो ।  बालुवाटारमा बैठक राख्दा पार्टीभित्र र बाहिर आलोचना भएपछि कांग्रेसले गत ८  साउनमा डाकिएको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकलाई देउवा निवास बुढानीलकण्ठमा राखेको थियो ।

तत्कालीन कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले पार्टीको औपचारिक बैठक अब प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नबस्ने जानकारी दिँदै ट्वीट गरेका थिए ।   विगतको गलत परम्परालाई तोड्दै अबदेखि पार्टीको औपचारिक बैठकमा नबस्ने उनले बताएका थिए । सोही निर्णय कार्यान्वयन गर्दै गत ८ साउनमा पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बुढानीलकण्ठमा राखिएको थियो ।

तर, सोही निर्णयविपरीत बिहीबार पनि बालुवाटारमा कांग्रेस शीर्ष नेताहरुको बैठक बसिरहेको छ । बालुवाटारमा कांग्रेस शीर्ष नेताहरुको बैठक बसिरहेको प्रधानमन्त्रीसमेत रहेका सभापति देउवाका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए ।

‘अहिले कांग्रेस शीर्ष नेताहरूको बैठक बालुवाटारमा बसिरहेको छ,’ उनले भने, ‘निर्वाचनलगायत समसामयिक विषयमा छलफल भइरहेको छ ।’

पछिल्लो समय सत्तारुढ गठबन्धनको बैठक पनि बालुवाटारमै बस्दै आएको छ । उक्त बैठक ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनको रणनीति बनाउन केन्द्रित रहँदै आएको छ । यी बैठकले गठबन्धनका पाँच दलबीच भागबन्डा मिलाउनदेखि उम्मेदवार चयन गर्नेसम्मका निर्णय गरेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार