ललितपुरको पाटन औद्योगिक क्षेत्रस्थित अक्सिजन प्लान्टमा भएको विस्फोटमा ज्यान गुमाउनेको संख्या दुई पुगेको छ ।
महानगरीय प्रहरी परिसर, जावलाखेलका प्रवक्ता एसपी सिद्धिविक्रम शाहका अनुसार पाटन अस्पतालमा उपचारका क्रममा दिउँसो १ः४५ बजे अर्का घाइतेको पनि मृत्यु भएको हो । घाइतेमध्ये मृत्यु हुनेमा भारत घर भएका २५ वर्षीय राजुकमार महतो रहेका छन् ।
बिहीबार बिहान १० बजे सगरमाथा अक्सिजन प्लान्टमा अक्सिजन भर्ने क्रममा अचानक विष्फोट भएको थियो । घटनामा भारत, पश्चिम चम्पारमका ४५ वर्षीया बृजमोहन महतोको घटनास्थलमै मृत्यु भएको थियो । घटनामा एक गम्भिर र ६ जना सामान्य घाइते थिए । महतोको शरीर क्षतविक्षत भएको एसपी शाहले बताए ।
घटनामा घाइते चन्द्रागिरी नगरपालिका-२ दहचोकका ४९ वर्षीय गंगाराज शर्माको बीएन्डबी अस्पतालमा उपचार भइरहेको छ ।
यस्तै, पर्सा घर भई लुबु चागाथली बस्दै बएका ४३ वर्षीय रमेश अधिकारी, महालक्ष्मी नगरपालिका-८ का ३६ वर्षीया दुर्गा पुरी, गोदावरी नगरपालिका-९ का १९ वर्षीय सुदीप तिमिल्सेना, महांकाल गाउँपालिका-५ चन्द्नपुरका २२ वर्षीय ईश्वर बजगाई, ओखलढुंगा घर भई महालक्ष्मीस्थान बस्दै आएका २० वर्षीया अन्जना पौडेल घाइते छन् ।
उनीहरू पाटन अस्पतालमा उपचारपछि डिस्चार्ज भइसकेको प्रहरीले जनाएको छ ।