बिहीबार बिहान ललितपुरको औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा भएको भयानक विस्फोटमा परेका मृतक र घाइतेको शरीरको ३ सय मिटर टाढासम्म फेला परेको छ । विस्फोटमा एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ । बिहानको समयमा स्वचालित रूपमा रहेको प्लान्टमा एक्कासी बिहान शक्तिशाली विस्फोट भएको प्रहरीले जनाएको छ ।
विस्फोटका कारण प्लान्ट वरिपरिको समेत ठुलो क्षति पुगेको छ । घटनास्थलमा पुगेका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायका अनुसार घटनास्थल हेर्दा निकै शक्तिशालीका साथ विस्फोट भएको अनुमान गर्न सकिन्छ । ‘मानिसका शरीरका टुक्रा तीन सय परसम्म पनि भेटिएको छ, उद्योगको छाना केही बाँकी छैन,’ उनले भने, ‘धेरै नै इनर्जीका साथ विस्फोट भएको देखिन्छ । घटनास्थलको अवस्था निकै भयावह देखिन्छ ।’ टाढा–टाढाका घरहरूका सिसा पनि फुटेका छन् ।
स्थानीयहरू समेत विस्फोटपछिको त्रासले अहिलेसम्म शान्त रहन सकेका छैनन् । प्रहरीका अनुसार विस्फोटबाट घाइते भएकाहरूको तत्काल उद्धार गरेर अस्पतालमा पठाइएको छ । प्रत्यक्षदर्शीका अनुसार विस्फोट हुने बेलामा प्लान्टमा १० जना कार्यरत थिए । दुई जना उद्योग सन्चालकको सम्पर्कमा आएका छन् । एक जनाको मृत्यु भइसकेको छ ।
सात जना घाइतेहरु अस्पतालमा छन् । घाइतेहरुको पाटन अस्पताल, बीएण्डबी र पाटन अस्पतालमा उपचार भइरहेको छ । घटनास्थलमा प्रमुख जिल्ला अधिकारी उपाध्यायसहित ललितपुर प्रहरी प्रमुख शाह, राष्ट्रिय अनुसन्धान विभाग र विपद् व्यवस्थापनको टोली पुगेको छ ।