प्रचण्ड भन्छन्- समस्या परे गठबन्धनभित्रै मित्रतापूर्ण प्रतिस्पर्धाको ठाउँ पनि बाँकी छ

'स्थानीय तह निर्वाचनमा अग्रगामी र प्रतिगामीको ध्रुवीकरण देखियो'

नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समस्या परेका पालिकामा सत्ता गठबन्धनभित्रै मित्रतापूर्ण प्रतिस्पर्धा गर्न सकिने बताएका छन् ।

चुनावी अभियानका क्रममा बिहीबार धनगढी पुगेका अध्यक्ष प्रचण्डले पत्रकारहरूसँग भने,  ‘कहिँकतै (पालिकामा) गठबन्धनभित्र त्यस्तो समस्या पर्‍यो भने गठबन्धनभित्र स्वस्थ र मित्रतापूर्ण प्रतिस्पर्धाको ठाउँ पनि हामीले बाँकी राखेका छौं ।’

यद्यपि, ६ महानगरपालिका र ११ उपमहागरपालिकामा गरिएको तालमेलका आधारमा नै अन्य पालिकामा गठबन्धनभित्र तालमेल हुने उनले बताए । ‘गठबन्धनभित्र तालमेलमा अधितम जोड गर्ने, जसरी केन्द्रमा महानगर र उपमहानगरपालिकामा  सहमतिका आधारमा तालमेल गरेका छौं,’ उनले भने, ‘त्यही मर्म र भावनालाई आत्मसाथ गरेर तालमेल र गठबन्धन गर्ने भनेर भनेका छौं ।’

‘समस्या परेमा त्यस्तो ठाउँमा गठबधनभित्रै पनि प्रतिस्पर्धा हुन सक्छ भनेका छौं । तर, त्यस्तो भन्नुको तात्पर्य गठबन्धनभित्रको प्रतिस्पर्धामा प्राथमिकता दिने भनिएको होइन । प्राथमिताकता तालमेलमा हो,’ उनले थपे, ‘तर, समस्या कहिँकतै पर्‍यो भने समस्या परेको ठाउँमा मित्रतापुर्ण प्रतिस्पर्धा गर्न सकिन्छ भन्ने कुरा नै हो ।

अध्यक्ष प्रचण्डले नेपाली राजनीतिमा दुई ध्रुवीकरण देखा परेको पनि बताए । हिजो प्रतिगमन र प्रतिक्रान्तिविरुद्ध आन्दोलन गर्नेको शक्तिको परिवर्तन र अग्रगामी गठबधन रहेको बताउँदै उनले अर्काे गठबन्धन परिवर्तन  उल्ट्याउने कोशिस गर्नेहरूको रहेको बताए ।

‘हिजोका राजा महाराजासँगका शक्ति वा दलाल शक्तिहरूको गठबन्धन बनाउँदै छन् । कहिले ८ दल कहिले ९ दल भन्ने गरिएको छ,’ उनले भने, ‘अहिले दुई वटा गठबन्धन छन् । एउटा अग्रगमन, परिवर्तन र विकासका पक्षधरको गठबन्धन र अर्को यसलाई उल्ट्याउने कोशिस गर्नेहरुको पक्षधरबीच ध्रुवीकरण देखिएको छ ।’

यस्तै उनले सुदूरपश्चिममा सबैतिर गठबन्धनबीच तालमेल हुने विश्वास गरे । ‘गठबन्धनभित्र तालमेलमा अधिकतम् जोड गर्ने हामीले हिजो जारी विज्ञप्तिमा उल्लेख छ । केन्द्रमा जसरी हामीले महानगर र उपमहानगरमा तालमेल गरेको छौं, त्यही मर्म र भावनालाई आत्मा साथ गरेर देशैभरी तालमेल गर्ने भनेका छौं,’ उनले भने ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार