स्थानीय तह निर्वाचनमा महानगरपालिका र उपमहानगरपालिकाका उम्मेदवारबारे छलफल गर्न नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक बस्दै छ ।
बैठक दिउँसो १ बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बस्ने एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । महानगर र उपमहानगरको उम्मेदवार आजै टुंगो लगाउने एमालेको तयारी छ ।
सत्तागठबन्धनले महानगर र उपमहानगरको भागबण्डा मिलाएको भोलिपल्ट प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सचिवालय बैठक बस्न लागेको छ ।
केन्द्रीय सचिवालय बैठकभन्दा अगाडि एमालेको केन्द्रीय सल्लाहकार परिषदको बैठक पनि बस्दै छ । सल्लाहकार परिषदको बैठक बिहान ११ बजे ए वान पार्टी प्यालेस शंखमुलमा बस्ने रिजालले जानकारी दिए ।
एमालेको चुनावी घोषणापत्रको सस्यौदालाई यसअघि नै सचिवालय बैठकले अनुमोदन गरिसकेको छ । एमालेले पार्टी स्थापना दिवसको अवसर पारेर वैशाख ९ गते एकैपटक केन्द्रबाट र स्थानीय पालिकाहरुबाट प्रतिबद्धतापत्र सार्वजनिक गर्दैछ ।