विश्व स्वास्थ्य संगठनका महानिर्देशक आज नेपाल आउँदै

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयसस बिहीबार (आज) नेपाल आउँदै छन् । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाको निमन्त्रणामा उनी नेपाल आउन लागेका हुन् । उनी आज दिउँसो १२ः२५ बजे नेपाल आइपुग्दै छन् ।

तीनदिने भ्रमणका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनासँग शिष्टाचार भेटघाट गर्नेछन् ।

त्यसैगरी उनले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री खतिवडा र परराष्ट्रमन्त्री नारायण खड्कासँग पनि भेटघाट गर्नेछन् । यस्तै नेपाल सरकारका उच्च अधिकारीसहित डब्ल्यूएचओका नेपालस्थित प्रतिनिधि र संयुक्त राष्ट्रसङ्घका प्रतिनिधिसँग पनि उनले छलफल गर्नेछन् ।

निर्देशक तीनदिने सद्भाव भ्रमणमा नेपाल आउन लागेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले जानकारी दिए । भ्रमणकै क्रममा उनले टाइफाइडविरुद्धको खोप अभियान र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको पनि अवलोकन गर्ने कार्यक्रम छ ।

महानिर्देशकका साथ डब्ल्यूएचओको दक्षिण पूर्व एशिया क्षेत्रीय कार्यालयका क्षेत्रीय निर्देशक डा पुनम खेत्रपाल र डब्ल्यूएचओका अन्य अधिकारी आउने परराष्ट्र मन्त्रालयले जनाएको छ । उनी वैशाख १० गते नेपालबाट फर्किने कार्यक्रम छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार