नेपाली कांग्रेसका नेता एवं नेपाल सरकारका गृहमन्त्री बालकृष्ण खाँणले गठबन्धनको निर्णय विपरीत गए कारबाही गर्ने चेतावनी दिएका छन् ।
पार्टीको केन्द्रीय कमिटी र गठबन्धनले गरेको निर्णयको विरूद्धमा लाग्ने जो कोहीलाई पनि आगामी निर्वाचनमा उम्मेदवार नबनाइने र पार्टीभित्र पनि स्थान नदिइने खाँणको चेतावनी छ ।
बुधबार रूपन्देहीको तिलोत्तमा मणिग्रामस्थित निजी निवासमा पत्रकारहरूसँग कुरा गर्दै गृहमन्त्री खाँणले भने, ‘गठबन्धनविरूद्ध अहिले जो-जो लाग्नुभएको छ, उहाँहरूलाई पार्टीले कारबाही गर्नेछ, प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको टिकट दिने बेला उहाँहरूको रेकर्ड हेरिने छ, पार्टीभित्र पनि उहाँहरूको नाम जगेडामा राखिने छ।’
गृहमन्त्री खाँणले वैशाख ३० मा स्थानीय तहको निर्वाचन हुदैन कि भन्ने आशंका नराख्न आग्रह गरे । निर्वाचनमा सहभागी नभएका दलहरुलाई स्थानीय तहको निर्वाचनमा भाग लिन सरकारले आह्वानसमेत गरेको भन्दै केही दलहरुसंग सरकार बारम्बार छलफलमा रहेको उनले बताए ।
राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई पुनर्वहाली गर्ने सर्वोच्चको निर्णयलाई सरकारले सम्मान गर्ने गृहमन्त्री खाँणको भनाइ छ ।